अछामी रावलको मन्दिर निर्माण गर्न छुट्यायो १ करोड

धनगढी : अछामका रावलहरुको कुलदेउताको मन्दिरमा पूर्वाधार निर्माण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटमा उक्त योजना ल्याएको हो।

अछामको बान्नीगढी जयगढ–५ सुगालीमा रहेको जालवा देवी मन्दिरमा पूर्वाधार निर्माणका लागि ५० लाख र त्यहाँबाट बसाइसराई गरेर कैलाली आएकाहरुको लागि टीकापुर नगरपालिका–१ को ब्लक न. ५ स्थित जालवा देवी मन्दिरमा पूर्वाधार निर्माण गर्न ५० लाख गरि एक करोड बजेट विनियोजन गरिएको हो।

टीकापुरमा रहेको जालवा देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्र रावलका अनुसार उक्त जालवा देवी अछामी रावलहरुको कुलदेउताको मन्दिर हो।

‘जालवा देवी मुख्यतः रावलका कुल देउता हुन्,’ उनले भने, ‘तर टीकापुरमै बसोवास गर्ने ढुङगाना र साउँदले पनि कुलदेउता मान्दै आएका छन् ।’

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समुदाय र जात विशेषका मन्दिर निर्माणका लागि झण्डै १९ करोड बढी बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर २÷४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन भएको छ।

बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । ज्यूलेख मन्दिर मन्त्री शाहको कुल देवताको मन्दिर हो। दीनेश खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button