
अछाममा आत्महत्याका घटनामा बढोत्तरी
टेकराज भण्डारी असार २३, अछाम
अछामको रामारोशन गाउँपालिका वडा नम्बर २ चिलेत्राकी एक महिलाले आत्महत्या गरेको विषयमा माईति पक्षले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेका छन् ।
मंगलसेन नगरपालिका वडा नम्बर ७ पिपलगाउँ माईतिघर भएकी २५ बर्षिया कौसी लुहार विकले असार २१ गते राती घर नजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको घटनामा माईति पक्षले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको हो । मृतक कौसीका श्रीमान् नन्दसिंह लुहार विकको नाममा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको मृतकका बुवा कालु कामीले बताउनु भयो । २०७३ सालमा मागी विवाह गरेका कौसी र नन्दसिंहका ३ बर्ष र १० महिनाका २ छोरी छन् ।
मृतकको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले बताउनु भयो । प्रहरी घटनास्थलमै पुगि आवश्यक प्रक्रिया पुरा गरेर मंगलबार राति शव जिल्ला अस्पताल पु¥याईएको थियो ।
श्रीमानले पटक पटक हिंसा गर्ने गरेको र यो पटक पनि उसकै कारणले आत्महत्या गरेको भन्दै उजुरी गरेको माईति पक्षले दाबी गरेको छ । उजुरी दर्ता भएको र अदालतबाट पक्राउ आदेश लिई पक्राउ गरेर अनुसन्धान तथा कारबाही अघि बढाईने सुचना अधिकारी प्रहरी निरिक्षक बोहराको भनाई छ । मुद्धा दर्ता भई सरकारवादी मुद्धा भैसकेको र आवश्यक अनुसन्धान अघि बढाई दोषीलाई कानून अनुसार कारबाही गरिने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
पहिले मदिरा सेवन तथा कुटपिट गर्ने गरेपनि पछिल्लो समय आफुले त्यस्तो कुनै हिंसा नगरेको श्रीमान् नन्दसिंहको दाबी छ । सधैँ ४ बजे उठ्ने श्रीमति त्यो दिन कतै नदेखेपछि खोजी गर्दा मृत अवस्थामा भेटिएकी उहाँले बताउनु भयो ।
माईति पक्षले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै अस्पताल परिसरमा केही बेर तनावको अवस्था समेत सिर्जना भएको थियो ।
आफुले छोरी ज्वाईको घरबार होस् भनेर नगद, लुगाकपडा, बाख्रो, भैंसी समेत दिएको तर हिंसा गर्न नछाडेको बुवा कामीको भनाइ छ ।
अछाम जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको हालसम्म ४६ वटा आत्महत्याका घटना भएको कार्यालयले जनाएको छ । जसमध्ये २५ घटना महिलाका र २१ घटना पुरुषका रहेको छ । महिलाको २५ आत्महत्यका घटना मध्ये ३ जना १५ बर्ष मुनिका बालिकाको रहेको प्रहरी कार्यालयले जनाएको छ ।
महिला आत्महत्यका घटनामध्ये ७ वटा घटनामा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । जसमा २ जनालाई १÷१ बर्ष तथा १ जनालाई १ महिना कैद सजाय भएको छ ।
गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार २६ वटा आत्महत्यका घटना भएका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्षको असार २३ गतेसम्म आत्महत्याका २० वटा बढी घटना भैसकेका छन् ।
मदिराको सेवन गरी घरमा भैmझगडा गर्ने, घरेलु हिंसा, लक डाउनको कारण मानसिक समस्या बढ्ने जस्ता कारणले यस्ता घटना बढीरहेका सरोकारवालाले बताउने गरेका छन् । यसको रोकथामका लागि समुदाय स्तरमै मेलमिलापको वातावरण तयार गर्ने मदिराको सेवन हटाउनु पर्ने, रोजगारीको वातावरण सिर्जना गर्ने लगायतका कार्य गर्नुपर्ने, बाल बिबाह नगर्ने तथा महिलाहरु आत्मनिर्भर बन्नुपर्ने यसो भएमा हिंसा तथा आत्महत्याका घटनामा न्यूनिकरण हुने अधिकारकर्मी बताउने गर्दछन् ।