धनगढी । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।
नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए ।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएसपी भट्टले बताए ।
उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए ।
जलविद्युत आयोजना बाढीले बगायो
नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ ।
अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिए ।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको उनले बताए ।
जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।