
काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए ।
साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।
बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताउनुभयो ।
साथै उहाँले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्ने/नगर्ने निर्णय व्यक्तिगत हुने समेत बताउनुभयो । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
साथै अध्यक्ष ओली र नेता नेपाल समूहबाट पाँच/पाँच जना सदस्य रहने गरी गठन भएको कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।