
साउन १८, अछाम : बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा चौरपाटी गाउँपालिकामा ७५ लाख बढी रकम फिर्ता गएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ को पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणाली मार्फत वितरण सुरु गरे पछि रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सात हजार आठ जना लाभग्राही रहेकोमा एक हजार चार सय लाभग्राहीले खाता नखोले पछी रकम फिर्ता गएको गाउँपालिकाले जानकारी दिइएको छ ।
गाउँपालिकाले पटक पटक खाता खोल्न सुचना प्रकाशन गरे पनि वडा तथा गाउँपालिकाको कार्यालयमा सम्पर्कमा नआए पछी सामाजिक सुरक्षा भत्ता फिर्ता पठाएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा गाउँपालिकाको समन्वयमा आर्थिक बर्ष २०७७÷०७८ मा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुदाँ ठुलो रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।
बैँकिङ्ग प्रणाली मार्फत वितरण हुनु पहिले सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको सबै रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ताको लागि खाता खोल्न नआउने सुचीमा अधिंकाश वालवालिकाको नाम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनु भयो ।

समयमै मृत्यु दर्ता नहुने गरेको, दोहोरो दर्ता, लाभग्राही उपस्थिती विना घरको अन्य सदस्यले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाईएकोले सामाजिक सुरक्षा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुदाँ आर्थिक पारदर्शितताका साथै सम्बन्धित लाभग्राहीको हातमा सामाजिक सुरक्षा भत्ता पुग्दा जेष्ठ नागरिक लाभग्राहीहरु खुशि रहेको गाउँपालिकाले जनाएको छ ।
गत आर्थिक बर्षमा बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा कोराना भाईरस कोभिड १९ का कारण लाभग्राहीमा केहि समस्या भए पनि आगामी आर्थिक बर्ष २०७८÷०७९ मा सहजता हुने प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनु भयो ।
आर्थिक बर्ष २०७७÷०७८ मा पहिलो चौमासिक तिन करोड पैतिस लाख सताईस हजार पाँच सय अठसट्टी, दोस्रो चौमासिक तिन करोड तिस लाख चौवालिस हजार छ सय तेइस र तेस्रो चौमासिक तिन करोड तिस लाख चौवालिस हजार छ सय तेइस गरी वार्षिक रु. नौ करोड छ्यानब्ने लाख सोह्र हजार आठ सय चौध रुपैया सामाजिक सुरक्षा वापत भुक्तानी भएको थियो ।