
शंकर थापा अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना काँडाकोटको राक्से खेत पहिरोले बगाउन थालेको छ ।
लगातारको अविरल बर्षा संगै पहिरो जाँदा दर्नाको काडाकोटका केहि बस्ती जोखिममा परेका छन् भने खेत पनि बगाएको छ । गाउँ तलबाट पहिरो जान थालेपछि उक्त टोलका केही बस्तीहरु जोखिममा छन् ।
दर्नाको काँडाकोट स्थित धामीटोल र कठायत टोलका करिव १२ परिवारको १ सय २ पाथी बिउँ लाग्ने खेत समेत पहिरोेले बगाउन थालेको छ । अहिले खेतको वीच भागबाट पहिरो बगिरहेको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।

केही भाग बगाईसकेको छ, भने केही खेत पहिरोका कारण भाँसिएको छ । निरन्तर पहिरो बग्न थालेपछि ३ वटा घर छाना अति जोखिममा रहेका स्थानिय किसानहरुले बताएका छन् ।
पहिरोले स्थानिय पाथे धामी, कुले धामी, जहरी धामीको घर, छाना अति जोखिममा छन् । बिगतका बर्षमा पनि बर्खायामको समयमा पहिरोले खेत बगाउँदै आएको थियो ।

पहिरोको रोकथामका लागी उचित पहल नचालेमा थप जोखिम निम्तन सक्ने स्थानिय नागरिकहरुको भनाई छ ।
बर्षभरि काम गरेर घरपरिवार पाल्नुपर्ने किसानहरु अहिले पहिरोले खेत बगाउदै सखाप हुने स्थतिमा पुगेपछि ठुलो समस्यामा परेका छन् । यो समयमा अब के गरेर घरपरिवार पाल्ने भनेर उनिहरुलाई समस्याले पिरोल्न थालेको छ ।
साथै स्थानिय सरकार लगायत अन्य विभिन्न निकायले पहिरो लाई रोकथामका लागी पहल गरिदिनुपर्ने माग छ भने, राहतको समेत व्यावस्था गरिदिन आग्रह गरेका छन् ।
पहिरोको रोकथाम र थप क्षति हुन नदिनका लागि पहल गर्ने पहिरोको अवस्थाबारे बुझेर फकिनु भएका वडा अध्यक्ष कडायतको प्रतिबद्धता छ ।
