
टेकराज भण्डारी भदौ १८, अछाम
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट शुरु भएको छ । पटकपटक कार्यतालिका सर्दै आएको कांग्रेस महाधिवेशनको प्रक्रिया आज वडा अधिवेशन गर्दे शुरु भएको हो । देशभरका ७७ वटै जिल्लाका सबै वडामा आज एकसाथ अधिवेशन गर्ने भनिए पनि आज करिब ४५ जिल्लाका वडामा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ ।
५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले सबै जिल्लामा वडा अधिवेशन शुक्रबाटै सुरु हुन नसकेको हो ।
कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरि सक्ने जनाएको छ । किनभने २७ भदौमा गाउँ÷नगर अधिवेशन हुनेछ ।
अछाम जिल्लाका ९१ वटै वडामा आज अधिवेशन भएको नेपाली कांग्रेस अछामका सचिव नम बहादुर शाहीले जानकारी दिनुभयो । जिल्लाका सबै वडामा निर्धारित कार्यतालिका अनुसार अधिवेशन भएका उहाँले बताउनु भयो । “आजबाट अधिवेशन शुरु भएका छन् । सर्वसम्मत नेतृत्व छनौट हुने वडामा आजै अधिवेशन सकिन्छ भने निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने अवस्थामा भोलिसम्म जानसक्छ” सचिव शाहीले बताउनु भयो ।
यतिवेला वडा अधिवेशनका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ता गाउँ केन्द्रति भएका छन् । जिल्ला तथा राजधानीमा बस्दै आएका नेताहरु अहिले गाउँमा गएका छन् । नेतृत्व तथा विभिन्न पदाधिकारीका लागि गाउँबाटै आउनुपर्ने प्रावधान भएपछि नेताहरु गाउँकेन्द्रति भएका हुन् ।
कांग्रेस अछामका सभापति भरतकुमार स्वार, उपसभापति नयाँराम बजगाई, सचिव नम बहादुर शाही, सहसचिव वेदप्रकाश तिमिल्सैना लगायतका जिल्ला तहका नेता तथा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु आ आफ्नो वडामा केन्द्रीत भएर अधिवेशनमा भाग लिईरहेका छन्् ।
वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।
कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।
केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।
विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने कार्यतालिका तय गरिएको छ ।