
जिल्ला अस्पताल र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण
शिबराज ढुंगाना, अछाम । नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।
जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ ।
नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।

बिरामीलाई फलफुल वितरणपछि प्रशंसा पत्र वितरण गर्दै प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले रेडक्रस मानवीय सेवामा निरन्तर रहेको भन्दै यसमा सबैको साथ रहनुपर्नेमा बताउनुभयो ।
रेडक्रसले आफ्ना सातवटा सिद्धान्तका आधारमा विपद्मा परेका व्यक्ति र रगत आपुर्तिमा राज्यलाई सहयोग गरिरहेको भनाइ बोगटीको छ ।

हरेक व्यक्तिको राम्रो उपचारका लागि अस्पतालको स्तरोउन्नतीमा आफू क्रियाशील रहेको भन्दै हरेक स्थानीय तहमा अस्पताल निर्माणले गति लिएको भनाइ राख्नुभयो ।
राज्यका हरेक काममा सबैले सकारात्मक सोचका साथ अघि बढेमा मात्र सफलता हात लाग्ने भनाइ प्रतिनिधिसभा सदस्य बोगटीको भनाइ छ ।
जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरणका क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, निमित्त प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, अस्पताल, पत्रकार र रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी अछामका सभापती रत्नप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री ध्रुवकुमार शाहीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला अस्पताल अछामका अध्यक्ष प्रभुनाथ खनाल, भवानी बक्स गणका गणपती रितेश रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलसीराम अर्याल, शसस्त्र प्रहरी बल साँफेबगरका प्रमुख जगदिश जोशी, जिल्ला अस्पताल अछामका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर सोनली बास्कोटा लगायतको समेत सहभागिता रहेको थियो ।
