दार्चुलाको तुइन घटनामा सरकारको कुटनीतिक असफलता

दार्चुलामा भएको तुइन घटनामा भारतको तर्फबाट अमानवीय कार्य भएको छ । एसएसबी जवानले तुइन काटेर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यो अत्यन्तैै दुःखद कुरा थियो । यसमा मानवीय पक्ष ओझेलमा परेको देखिन्छ । 

दुर्घटना भइसकेपछि तत्काल अनुसन्धानको लागि छानबिन समिति बनाउनुपर्छ । सरकारले बनायो पनि । तर प्रतिवेदन तयार गर्न एक महिना समय लाग्यो । प्रतिवेदन तयार भए पनि दोषीलाई कारबाही र पीडितलाई राहतको लागि थप कुटनीतिक पहल हुन सकेको देखिँदैन ।

भारत सरकारले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन आफ्नाेतर्फबाट छानबिन गर्नु पर्दथ्याे । स्थानीय निकायले यस्ता कामहरु तुरुन्तै गर्नु पर्ने थियो तर पटक्कै हुन सकेन । स्थानीय प्रशासनले सीमा पारि रहेकाहरुसँग छलफल गर्न सक्थ्यो, तर कसैले ध्यान दिएनन् ।

नेपाल सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने भनेको छ । तर यो मात्रै समाधन होइन । यस्तो घटना भइसकेपछि भारत सरकारसँग बैठक बस्नु पर्ने हो । बैठक बस्यो कि बसेन भन्नेमा न नेपाल सरकार बोल्छ न भारत सरकार नै बोल्छ । 

नेपालले यथार्थ कुरा भारतसँग गर्न नसक्ने त होइन । तर भारतसँग कुरा गर्न एकखालको हीनताबोध जस्तो देखिने गरेको छ । हाम्रो सुरक्षा नीति, परराष्ट्र नीति राम्रोसँग परिभाषित हुन जरुरी छ । हामी आफैँ संयमित हुने हो, हामी आफैँ व्यवस्थित हुने हो । यो घटनाको बारेमा तत्काल नेपाल सरकारले भारतलाई ध्यानाकर्षण गराउनु पर्छ । नेपाली दूतावासबाट नेपाली राजदूतले पनि परराष्ट्र मन्त्रालयलाई खबर गरेर भारत सरकारको ध्यानाकर्षण गराउनु पर्छ । 

हामी नैतिक मूल्य, मान्यता, सार्वभौम सम्पन्न भएको जस्ता धेरै ठूला कुरा गर्छौँ । तर व्यवहारमा त्यस्तो देखिंदैन । अन्तर्राष्ट्रिय कानुनको विपरीत भारतले पानीका प्राकृतिक बहावमा बाँधहरु बनाउँछ । हामी त्यसको प्रतिवाद गरेर यो गलत हो यसलाई हटाउ भन्न सक्दैनौँ । अलिकति साँघुरो भयो यसलाई अझै चौडा बनाउ भन्छौँ । सुरुदेखिकै गल्तीले गर्दा यस्तो भएको हो । 

भारतबाट हुने यस्ता हेपाहा प्रवृत्तिबारे कुरा उठाउन सरकारको एउटा अडान चाहिन्छ । यसको लागि सरकारको नैतिक पक्ष बलियो हुनु पर्छ । हामी सार्वभौम राष्ट्र भन्ने, तर विवादित विषयमा कुरा उठाउन भने भारत रिसाउला कि भारतले केही भन्ला कि भनेर पन्छिन खोज्छौँ । चुच्चे नक्साको विषयमा एउटा अभूतपूर्व एकता भयो । नक्सा त पास भयो, तर त्यसलाई कुराकानीमा लैजानै सकेनौँ । 

दार्चुलाको तुइन घटनाबारे दिल्लीमा रहेका नेपाली राजदूतले पनि कुरा गर्न सक्नुपर्ने हो । राजदूत भनेकोे देशको एउटा सर्वाधिकार सम्पन्न प्रतिनिधि हो । उसले राष्ट्रिय हितमा, राष्ट्रिय स्वार्थमा बोल्नलाई कसैसँग सोध्नु पर्दैन । आफ्नाे दायित्व बुझेर आफैँले गर्नु पर्छ । 

काठमाण्डौमा रहेको भारतीय दूतावासका दिल्लीबाट एउटा मान्छे आयो भने उसले ४८ घण्टाभित्र नेपालका सबैलाई भेट्न पाउँछ । एउटा कार्यक्रममा सारा नेपाल पल्टिन्छ । लैनचौर दूतावासले जुन सहुलियत पाएको छ, त्यो सहुलियत दिल्लीमा गएर आफूले पनि लिन सक्नु पर्छ । कुटनीतिमा  हामी सबै मर्यादित हुनु पर्यो, संयमित हुनु पर्यो र नतिजा देखिने हुनु पर्यो । मुखले मात्र सधैँ राम्रो छ, ठिक छ, खटपट पनि मिल्यो भनेर हुँदैन ।

कुटनीतिका धेरै आयाम हुन्छन । घटना हुन्छ, घटना हुँदा केही मानवी कमजोरी या त्रुटीबाट पनि हुन सक्छ । यसमा भारत सरकाले पनि सत्य घटना हो भनेर मानवीय आधारमा आफ्नाे भूमिका खेल्नु पर्छ । घटना हुँदा यस्तो भएछ, यसकाे सकारात्मक पक्षबाट अनुसन्धान गर्छौँ र दोषी देखियो भने कारबाही गर्छौँ भन्दा पनि कुटनीतिक हिसाबले राम्रो देखिन्छ ।

नेपाली नागरिकलाई मनमा बिझ्ने कुरा गरेर भारतको पनि भलो हुँदैन । नेपाल र भारतको सम्बन्धको कुरामा हामी गौरव गर्छौँ । भारतले पनि गरिरहन्छ । यसलाई कायम राख्न दुवै देशले एकअर्काको हित विपरीतका कार्य गर्न हुँदैन ।

दार्चुला घटनामा आफ्नो तर्फबाट गल्ती भएकै हो भनेर भारतलाई महसुस हुनुपर्छ । त्यो महसुस गराउने काम नेपाल सरकारको हो । परराष्ट्र मन्त्री नभए पनि, प्रधानमन्त्री र अरु परराष्ट्र मन्त्रालयका अधिकारीहरुले प्रष्ट रुपमा सत्यतथ्य कुरा राख्न सक्नुपर्छ । दार्चुलामा गल्ती भएकै हो भनेर भारतले महसुुस गर्नु पर्यो । त्रुटि भए पनि यसको अनुसन्धान गर्छौँ अब यस्तो हुँदैन भन्नु पर्यो । 

सीमावर्ती ठाउँका धेरै नेपालीहरु छिटो र सजिलाेका लागि भारतीय सिमानाको बाटो प्रयोग गरिरहेका छन । यो सन्धिबाट प्राप्त भएको अधिकार हो । नेपालीलाई भारत जान र भारतीयलाई नेपाल आउन कुनै रोकतोक छैन ।

तुइनको लठ्ठा फुस्काउने विषयलाई गम्भीर रुपमा लिनु पर्छ । मन्छे तर्दातर्दै लठ्ठा फुस्काउने भनेको अपराधजन्य कार्य हो । यो बारेमा हामीले राम्रोसँग ध्यानाकर्षण गराउन सक्नु पर्दछ । कुटनीतिमा प्राथमिकता र निरन्तरता भनेको एकदमै महत्त्वपूर्ण हुन्छ । समाधान नपाएसम्म त्यसलाई निरन्तरतामा राख्नु पर्छ ।

अन्तर्राष्ट्रिय सीमामा घटना हुँदा हाम्रो पनि कर्तव्य हो, हाम्रो पनि दायित्व हो भन्ने महसुस भारतले गर्नु पर्छ । घटनाको छानबिन गर्ने, दोषीलाई कारबाही गराउने कुरामा भारत सरकारलाई सहमत गराउन नसक्नु भनेको हाम्रो पनि कुटनीतिक सफलता मान्न सकिन्न । मानवीय हिसाबले भारतको कुटनीतिलाई पनि सफल मान्न सकिँदैन । 

पहिलो कुरा भारतलाई महसुस गराउनुपर्छ । त्यसपछि एउटा वक्तव्य दिएर सत्यतथ्य सार्वजनिक गर्छौँ भनेपछि बल्ल दोषीलाई सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको कुरा आउँछ । यसको प्रयास गर्नु पर्छ । महसुस गराउनु पर्छ र आफूले पनि महसुस गर्नु पर्छ । नेपाल र भारत बीचको सम्बन्धमा यस्ता अमानवीय कामको अपेक्षा नेपाली नागरिकले कहिल्यै पनि गर्दैनन् । यो कुरा हामीले भारतीय सरकारलाई राम्रोसँग बुझाउन सक्नु पर्छ ।

नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिलाई सुपरिभाषित गराउनु पर्छ । राष्ट्रिय अडान हुनुपर्छ, राष्ट्रिय सहमति बन्नुपर्छ । धेरै पटक निर्णय भएर कार्यान्वयन नहुने आचारसंहिता र यस्ता पक्षको अन्त्य हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button