होप इन्टरनेशनलमा विभागको छापा, कुटनीतिक नियोगको गाडीसमेत भेटियो

मानिस जम्मा पारेर गोप्य रुपमा अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागको टोलीले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेशनलमा छापा मारेको विभागका सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिनुभयो । म्यानपावर हाताभित्र कुटनीतिक नियोगको गाडीसमेत भेटिएको छ । तर त्यो गाडी कुन कुटनीतिक नियोगको हो भनेर खुलिनसकेको सूचना अधिकारी नेउपानेले बताउनुभयो ।

काठमाण्डौ – पूर्व श्रम स्वीकृति नलिई कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

‘विभागको टोली म्यानपावर पुगेको थाहा पाएपछि अन्तर्वार्ता लिइरहेका मानिसलाई यताउता सारेको पाइयो,’सूचना अधिकारी नेउपानेले भन्नुभयो,‘मानिस जम्मा पार्ने अन्तर्वार्ता लिने, कतारको पुलिसमा जागिर लगाइदिने भन्दै प्रलोभन देखाउने गरेको प्रारम्भिक कुरा बुझिएको छ ।’ विभागको टोली अहिले पनि विभागमै रहेको र यसबारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तर्वार्ताका लागि आएको भेटिएको थियो । नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तर्वार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

अन्तरवार्तामा छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाण्डौमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्व स्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तर्वार्ता चलाइरहेको पुष्टि भएको छ ।

कतारमा रहेको नेपाली दूतावासले भने गएको आइतबारदेखि मात्रै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गरेको छ । कतार सरकारले नोभेम्बर १५ मा सूचना जारी गर्दै नयाँ श्रम अनुमोदन खुल्ला गरेको जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button