अछाममा भेरोसिलको दोस्रो डोज खोप लगाईने (अडियो सहित)

टेकराज भण्डारी भदौ २३, अछाम

अछाम जिल्लामा कोरोना बिरुद्धको भेरोसिल खोपको दोस्रो डोज खोप लगाईने भएको छ । श्रावण १७ गते देखि २५ गते सम्म भेरोसिलको पहिलो डोज खोप लगाएका नागरिकलाई भाद्र २६ देखी २८ गते सम्म अछामका १० वटै स्थानीय तहका सबै वडाहरुमा खोप केन्द्र सञ्चालन गरी दोस्रो डोज खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट राज ढुंगानाले आज जानकारी दिनु भएको छ ।

प्रादेशिक स्वास्थ्य आपुर्ति केन्द्र धनगढीबाट विहिबार साँझसम्म अछाममा खोप पुग्ने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । अछामका १० वटै स्थानीय तहमा श्रावण १७ गते देखि २५ गते सम्म १५ हजार ५ सय ५२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका जनस्वास्थ्य अधीकृत ढुंगानाले बताउनुभयो । पहिलो मात्रा खोप लगाएका व्यक्तिले दोस्रो खोप लिन  जाँदा खोप कार्ड लिएर आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन सकिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै खोप सम्बन्धि केही जानकारी लिनु परे स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयसेबिकासँग जानकरी लिन सकिने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत ढुंगानाले बताउनुभयो ।

अछाममा हालसम्म ५८ हजार नागरिकलाई कोरोना बिरुद्धको पहिलो डोज दिईएको छ भने करिब २२ प्रतिशत बढीलाई दुबैमात्रा खोप दिईएको जनस्वास्थ्य अधिकृत ढुंगानाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट राज ढुंगाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button