कोरानाका कारण बन्द रहेका अछाममा विद्यालय सञ्चालनको तयारी, साँफेबगर नगरपालिकाका विद्यालय भोलिबाटै सञ्चालन गर्ने नगर प्रमुख कुँवरको भनाई,

स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न ईकाई प्रमुख गिरीको आग्रह

टेकराज भण्डारी, भदौ २३, अछाम

कोरोना महामारीका कारण गत बैशाख महिनादेखि बन्द रहेका अछामका विद्यालय पुनः सञ्चालनको तयारीमा जुटेका छन् । मंगलबार जिल्ला कोभिड सञ्चालन केन्द्रको बैठकले पहिलो निर्णयका रुपा विद्यालय सञ्चालनका लागि स्थानीय तहले अवस्था हेरेर निर्णय गर्न सक्ने निर्णय गरेपछि जिल्लाका विभिन्न स्थानीय तह विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन् ।

जिल्ला कोभिड सञ्चालन केन्द्रको बैठकले स्थानीय तहको गाउँ÷नगर शिक्षा समितिको बैठकको निर्णयबाट विद्यालय सञ्चालन गर्न सकिने निर्णयको भोलिपल्ट आज बुधबार जिल्लाको साँफेबगर नगरपालिकाले बिहिबारबाटै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको दोस्रो बैठकबाट भोलिबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले बताउनु भयो ।

यसअघि जिल्लाका विभिन्न स्थानीय तहले वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गरिरहेका थिए ।

जिल्लाका विद्यालयहरुमा गत बैशाख महिनादेखि पठनपाठन ठप्प हुँदा बालबालिकामा नराम्रो असर परिरहेको अवस्थामा विद्यालयमा बैकल्पिक माध्ययमबाट पठनपाठन शुरु गरिए पनि त्यो त्यति प्रभावकारी नभएको गुनासो आईरहेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइको भर्चुअल बैठक तथा पालिका स्तरीय प्रधानाध्यापकको बैठकबाट वैकल्पिक रुपमा सिकाई सहजीकरण भैरहेको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । तर जिल्लाका सबै विद्यालयमा टोल शिक्षा शुरु नभएको समेत पाईएको छ ।

लामो समयदेखि पठनपाठन बन्द हुँदा अछामका ४ सय ९० सामुदायिक गरी करिब ५ सय विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भैरहेको छ । बालबालिका विद्यालय जान नपाएपछि बढी असुरक्षित समेत हुने गरेको पाईएको छ । उनीहरु लड्ने, चोटपटक लाग्ने, हातखुट्टा भाँचिने, ज्यानै जाने सम्मका जोखिम रहेका अभिभावकहरुले बताउने गरेका छन् ।

स्मार्ट लकडाउन अन्तर्गत स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन निर्देशिका बनेको र सोही अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने ईकाई प्रमुख लक्ष्मण गिरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button