काठमाण्डाै – सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जानेहरूका लागि आउँदो असाेज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।
अग्रिम टिकट बुकिङ खुलाउनेबारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०/११ गतेदेखि बुकिङ खुलाउने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताउनुभयो ।
छलफलमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १० गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएको छ । आफूहरूसँग झन्डै सय वटा कम्पनी आबद्ध रहेका र अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सहमति जनाएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना सङ्क्रमणको जोखिम नघटेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या रहेको बताउनुभयो ।
देशव्यापी निषेधाज्ञा नभए पनि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेमा समस्या हुने भएकाले अवस्थाअनुसार बस सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशभित्र चल्ने गाडीको भाडा समायोजन नभएकाले पनि अग्रिम बुकिङमा समस्या रहेको उहाँको भनाइ छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता भुसालले केही दिनमा फेरि छलफल गरेर टिकट अग्रिम बुकिङ खुलाउने बताउनुभयो ।