अछाममा निमाेनिया बिरामी एक बालककाे मृत्यु

टेकराज भण्डारी असाेज ७, अछाम । निमाेनिया भई जिल्ला अस्पतालमा उपचार गराईरहेका एक बालककाे ज्यान गएकाे छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका ११ महिनाका भुपेन्द्र जनालाकाे ज्यान गएकाे हाे । असाेज ४ गते अस्पताल पुर्‍याईएका बालककाे बुधबार राति नै ज्यान गएकाे अस्पतालका सुचना अधिकारी नर्सिङ स्टाफ गंगा बुढामगरले बताउनु भयाे ।

कडा निमाेनिया र कुषाेषण भई फाेक्साेमा बढी संक्रमण भएकोले ज्यान गएकाे अस्पतालले जनाएको छ । थप उपचारका लागि धनगढी रेफर गरेको अवस्थामा समयमै राम्रो ठाउँमा पुर्‍याउन नसकेकाे कारण बालकले ज्यान गुमाउनु परेकाे अस्पतालले जनाएको छ ।

बच्चाको साथमा आमामात्रै रहेको र एक दिन पहिले नै रेफर गरेपनि रेफर गर्नासाथ राम्रो ठाउँमा लिन नसकिएकाे बताईएकाे छ । हाल अछाममा स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका बिरामी समेत बढेका छन् ।

जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको हो । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल मंगलसैनमा हाल ३ दिन यता मात्रै रुघाखोकी,भाइरत ज्वरो र निमोनियाका ५० भन्दा बढी बिरामी भर्ना भएका अस्पतालले बताएको छ । विशेष गरी ५ वर्ष मुनिका बालबालिकाहरूमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल अछामका नर्सिङ स्टाफ सूचना अधिकारी गंगा बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५ वर्ष मुनिका बालबालिकाहरूमा रुघाखोकी ज्वरोसँगै निमोनियाको समस्या देखिएको छ भने अस्पतालमा दैनिक दर्जनौँ भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् ।

ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरूमा भाइरल ज्वरो र बालबालिकाहरूमा निमोनिया समेत देखिने गरेको अस्पतालका मेडिकल रेकर्डर धर्मराज जैशीले जानकारी दिनुभयो । बालबालिकासँगै ५० वर्ष भन्दा माथिका वयस्कहरूमा पनि यस्तो समस्या बढी देखिएको छ ।

अहिले जिल्ला अस्पतालमा ४३ जना बिरामी भर्ना रहेका र तिमध्ये २५ जना बढी बालबालिका रहेका अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउनेहरू मध्ये अधिकांशमा भाइरल ज्वरो र मौसमी रुघाखोकी र निमोनियाको समस्या देखिएको जैशीले बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको छ ।

बयालपाटा अस्पतालमा पनि दैनिक रूपमा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका दर्जनौँ बिरामी आउने गरेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताउनु भएको छ । वर्षासँगै मौसम परिवर्तनका कारण यस्तो स्वास्थ्य समस्या देखिएको डाक्टर पाठकको भनाई छ ।

मौसम परिवर्तन भएसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँदै स्वास्थ्यकर्मीले पानीलाई उमालेर पिउन, गेडागुडीको झोल तथा पोसिला खानेकुरा खान सुझाएका छन् भने स्वास्थ्य सरसफाइमा समेत ध्यान दिन आग्रह गरेका छन् ।

कोरोनाको जोखिम बढ्न सक्ने तर्फ सङ्केत गर्दै स्वास्थ्यकर्मीले कोरोनाबाट बच्न आवश्यक स्वास्थ्यका सबै मापदण्डको पालना गर्न समेत सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button