
अछाममा चाडपर्व लक्षित अनुगमन शुरु
अछाम । अछाममा चाड पर्वलाई लक्षित गरी बजार अनुगमन शुरु गरिएको छ ।
दसैँ, तिहार लगायतका चाडको बेला हुन सक्ने कालोबजारी, मूल्य वृद्धि लगायतका कुरालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन थालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले आइतबार आज सदरमुकाम मङ्गलसेन बजारमा अनुगमन गरेको छ।
जिल्लाको सदरमुकामको मुख्य व्यापारिक केन्द्र रहेको मङ्गलसेनमा तिमिल्सैना नेतृत्वको एक टोलीले अनुगमन गरेको हो । विशेष गरेर बजारमा रहेका खाद्यान्न पसलहरूमा अनुगमन गरिएको हो ।
दसैँ तिहार नजिकिए सँगै बजारमा अखाद्य बस्तुहरूको बेचबिखन हुनसक्ने, महँगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनुभयो । बजारका विभिन्न पसलहरूको अनुगमन गर्दा ३ वटा पसलहरूमा म्याद सकिएका सामाग्री फेला परेका छन् ।
उक्त सामाग्रीहरू नष्ट गरिएको छ । त्यस्तै ६ वटा पसलहरुलाई पहिलो पटक सचेत गराइएको छ । अन्य पसलहरूको अवस्था सामान्य रहेको पाइएको छ । म्याद गुज्रिएका र नियम विपरीत सामानहरू बिक्री गरेको भन्दै एक जना व्यापारीलाई ५००० रुपैयाँ जरिवाना गरिएको छ ।
पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको उपभोक्ताको गुनासो रहेको छ । दाल, खाने तेल लगायतको मूल्य अचाक्ली बढेको पाइएको छ ।