
‘अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’
११ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बर्दिवास खण्डबाट करिब पाँच सय मिटर दक्षिणतर्फ छ, गुलाब साह खातुनको घर । ६ वर्षीया गुलाब बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घरमा ७ मंसिर बिहानसम्म हाँसी खुसी आँगनमा खेलिरहेकी थिइन् ।
त्यसदिन पनि गुलाब कहिले अम्मा चकलेट किन्दिनु त कहिले बिस्कुट किन्दिनु भन्दै खेलीरहेकी थिइन् । दिउँसो एकाएक गुलाबको खोजी भयो तर भेटिएन ।
निकै खोजी गरेपछि भेटिन् त भेटिइन् तर उनी चकलेट र बिस्कुट खान सक्ने अवस्थामा थिइनन् । उनलाई अपराधीले कहिले बोल्न नसक्ने, आँगनमा खेल्न नसक्ने अवस्थामा पुर्याइसकेको थियो ।
‘चकलेट किनेर घर आएकी थिइन्, फेरि खेल्न बाहिर कुदिन् र कहिल्यै फर्किनन्’ आँखा भरी आँसु पार्दै गुलाबकी फुपु आरफा खातुनले भनिन् ।
त्यो कालो दिनयता गुलाबको घरमा चुलो बलेको छैन । परिवारका कसैले खाना खाएका छैनन् । परिवारका सदस्यको कानमा गुलाबको बोली गुञ्जिरहेको छ ।
आमा सबिना खातुन अर्ध–मुर्छित छिन् । छोरी हराएको दिनदेखि उनको मुखमा अन्न परेको छैन । छिनछिनमा बेहोस जस्तै बन्छिन् । लाग्छ, आमाको आँखाको आँसु नै रित्तिइसकेको छ ।
बाबु–आमाकी जेठी सन्तान थिइन्, गुलाब । नाम जस्तै सुन्दर र प्रिय गुलाब । तर अपराधीले गुलाबलाई फक्रिनै दिएन ।
गत आइतबार बेपत्ता गुलाबको शव बोरामा भेटिएपछि उनको परिवार, आफन्त मात्रै होइन सिंगो देश नै शोकमग्न छ ।
गुलाबका बुबा सहिद आलम मुर्छित श्रीमतीलाई घरमै छाडेर न्यायका लागि हारगुहार गरिरहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईं गुलाबको हत्या गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहले गरेको बताउँछन् । बर्दिवास–१४ स्थित किराना पसलमा चकलेट किन्न गएकी गुलाबलाई साहले हत्या गरेर बोरामा शव लुकाएको डीएसपी चापागाई बताउँछन् । गुलाबको मृत शरीर साहको घर नजिकै भेटिएको थियो ।
‘गुलाबको खोजतलास गर्ने क्रममा आइतबार साँझ हामी उसको घरभित्र जान खोजेका थियौं,’ फुपु आरफा भन्छिन्, ‘त्यहाँ खटिएका दुईजना प्रहरीले खोजतलास गर्न दिएन ।’
गुलाबको हत्यारालाई फाँसी दिनुपर्ने आवाज उठेको छ । गत जेठमा आफ्नै साथीको हत्या गरेको स्वीकारी बयान दिँदा पनि आरोपी साहलाई अदालतले धरौटीमा छोडेको थियो ।
‘हत्यारालाई अदालतले त्यसरी नछोडेको भए गुलाव बाँच्ने थिइन्, अब हत्यारा कुनै हालतमा जोगिनु हुन्न’ गुलाबकी फुपु आरफाले आँसु पुछ्दै भनिन् ।
यो आपराधिक घट्नाको सिलसिला यतिमै रोकिदैन । विगतमा हत्या गर्दा पनि उन्मुक्ति पाएका अपराधीलाई कारबाहीको माग गर्दै जनता आक्रोशित भए । गुलाबको हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर बुद्धिराज (संजय) न्यौपानेको ज्यान गयो ।