
होम साउद, अछाम ८ पौषः मंगलसेन नगरपालिका वडानम्वर ३ को बिरालतोलीमा एच आई भी, टिबी रोकथाम कार्यक्रमको अनुगमन तथा प्रत्यक्ष अवलोकन कार्यक्रम सम्पन्न भएको छ । द ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको साझेदारीमा वाक नेपाल अछामद्धारा संचालित कार्यक्रमको सरोकारवालाहरु द्धारा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रवासी र तिनका दम्पतीका लागि एच आई भी/टिबी रोकथाम कार्यक्रम मार्फत गरिने क्रियाकलापबारे जानकारी लिईनुका साथै स्थलगत रुपमा परिक्षण कार्यको अवलोकन गरिएको थियो । स्थलगत अनुगमन तथा अवलोकन पश्चात औपचारीक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा वाक नेपालका उपाध्यक्ष ममिन मियाँको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै उपाध्यायले वाक नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको कार्य प्रभावकारी रहेको बताउनुभयो । गाउँ टोलमै पुगेर एच आई भी र टिबी रोगको परिक्षण गराउँदा जनतालाई सहज भएको भन्दै उहाँले संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । परिक्षण पश्चात कुनै केस पोजेटिभ देखिएमा त्यस्ता व्यक्तिलाई मनोपरामर्श दिई सहजीकरण गर्नुपर्ने र होसला बढाउनुपर्नेमा उहाँको जोड थियो ।
संस्थाले गर्ने परिक्षणको तथ्यंक र ए आर टी उपचार पद्धतिलाई थप व्यावस्थित बनाउँन सुझाव दिदै उपप्रमुख उपाध्यायले नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि सधै तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले वाक नेपालले एच आई भी र टिबीका क्षेत्रमा गरेका कार्यहरुको समयमै नगरपालिकामा रिपोर्टिङ गर्नुपर्ने बताउँदै गाउँमै पुगेर परिक्षण गराउँदा जनतालाई सहज भएको उल्लेख गर्नुभयो ।
अनुगमन कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष पदमसिंह भाट, मंगलसेन नगरपालिका स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुंगाना, वाक नेपालका अध्यक्ष बल बहादुर केसी, मंगलसेन नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउद, आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ३ का ईञ्चार्ज प्रवेश भण्डारी, जिल्ला अस्पतालका हिमाल ढुंगाना, वाक नेपालका हरिशचन्द्र रावल लगायतको सहभागिता रहेको थियो ।
वाक नेपाल एच आई भी/टिबी कार्यक्रमका परियोजना संयोजक कविराज जोशीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै परियोजना मार्फत भएगरेका क्रियाकलापको जानकारी गराउँनुभएको कार्यक्रमको संचालन वाक नेपालका लेखा तथा प्रशासन अधिकृत कृति सिंह खड्काले गर्नुभएको थियो ।