
इन्द्रसरा खड्का : कोदो विश्वको प्रमुख अन्न बाली हो । नेपालका पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि शहरमा बस्नेहरू भने कोदो किनेर खाने गर्दछन् । अझ यसको महत्त्व थाहा पाएकाहरू त खोजी खोजी खाने गर्छन् ।
आजभोलि पहाडी क्षेत्रमा कोदो उत्पादन हुन छोडेको छ । मुख्यतः वैदेशिक रोजगारी र तीव्र शहरीकरणको चपेटामा परी हाम्रा पहाडमा कोदोको मात्र उत्पादन घटेको होइन प्रायः जमिन बाँझो रहन पुगेका छन् ।
यद्यपि; जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने हेतुले अछामको चौरपाटी गाउँपालिकाले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको छ । जसअन्तर्गत कोदोसँग उति नै परिमाणमा चामल साटिन्छ ।
चौरपाटी गाउँपालिका–१, सिउडीका लालबहादुर थापाले अघिल्लो हप्ता साढे तीन क्वीन्टल कोदोसँग चामल साट्नुभयो । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा थापा निकै खुशी देखिनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले वर्षमा कहिलेकाहीं मात्र भात खान पाइन्थ्यो, त्यो पनि पाँच घण्टा हिंडेर चौखुट्टेबाट बोकेर ल्याउनुपर्थ्यो । अहिले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा राम्रो लगेको छ ।”
आजभोलि पहाडी क्षेत्रमा कोदो उत्पादन हुन छोडेको छ । मुख्यतः वैदेशिक रोजगारी र तीव्र शहरीकरणको चपेटामा परी हाम्रा पहाडमा कोदोको मात्र उत्पादन घटेको होइन प्रायः जमिन बाँझो रहन पुगेका छन् ।
लालबहादुरसँग १५ रोपनी पाखो जमिन छ । उहाँ त्यही जमिनमा कोदो फलाउनुहुन्छ । पाखो जमिनमा धान खेती गर्दा राम्रो फल्दैन किनकि धानको लागि नियमित पानी चाहिन्छ । पानीको लागि कुलो चाहियो जुन पाखो जमिनमा सम्भव हुँदैन । पाखो जमिनमा धान लगाउने भनेको आकाशे पानीको भरमा मात्र हो ।
लालबहादुरले बर्सेनि १०/११ क्वीन्टल कोदो फलाउने बारीबाट धान दुई/तीन क्वीन्टल पनि फल्दैन । यो उत्पादनले उहाँको दश जनाको परिवारलाई दुई/तीन महिना पनि भात खान पुग्दैन । उसो त अहिले गाउँमा प्रायःले खेती नै गर्न छोडिसके । “अहिले गाउँमा धेरैका जमिन बाँझै छन् । कोही रोजगारीका लागि भारत गएका छन्, कोही बसाइँ सरिसके,” लालबहादुरले भन्नुभयो ।
उहाँ जस्तै चौरपाटी गाउँपालिकाको धान नफल्ने क्षेत्रका नागरिकले कोदोसँग चामल साटेका छन् । सिउडीकै नन्दा थापाले चार क्वीन्टल कोदो चामलसँग साट्नुभयो । “बारीमा कोदो फल्छ, सधैं कोदो खाएर बस्न सकिंदैन । बेच्नको लागि नजिक बजार छैन । पालिकाले यो कार्यक्रम ल्याएर हाम्रो कोदोले बजार पाएको छ,” दुई बिघा जग्गाकी धनी नन्दा भन्नुहुन्छ, “पाखो जमिनमा धान राम्रो फल्दैन । खेत घरभन्दा अलि टाढा छ गर्न सकिएन । अहिले घरमा छोरा र म मात्र छौं, अब त यही कोदो फल्ने जग्गा पनि बाँझै रहन्छ होला ।”
नन्दाका छोरा दिपेन्द्र थापालाई कोदोको महत्त्वबारे थाहा भए पनि बारीमा काम गर्न मान्छे नहुँदा जग्गा बाँझो राख्नुपरेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ, “अहिले गाउँका मान्छेलाई पनि कोदो स्वास्थ्यका लागि राम्रो हो भन्ने ज्ञान छ तर खाने मान्छेलाई भने हेलाको दृष्टिले हेरिन्छ ।”
किन चलाइयो त यो अभियान ?
चौरपाटी गाउँपालिकाको १, ३, ४, ५, ६ र ७ वडाको माथिल्लो क्षेत्रमा कोदो उत्पादन बढी हुन्छ । कोदो मात्र उब्जनी हुने जग्गा बाँझो रहने क्रम बढेकोले जग्गा बाँझो नरहोस् भनेर यो कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । गएको वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ नीति तथा कार्यक्रममा समावेश गरेर अभियान चलाइएको पालिकाको कृषि शाखाका प्रमुख झप्पर भुलले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “पालिकाको यो कार्यक्रमले एकातिर जग्गा बाँझो रहनबाट बच्यो भने अर्कोतिर कोदोको उत्पादन बढ्यो ।”
यसअघि किसानले प्रतिक्वीन्टल चार/पाँच सयमा कोदो बेच्ने गरेकोमा अहिले चामल बराबरी दिंदा नागरिकलाई फाइदा भएको पालिकाका कर्मचारीहरू बताउँछन् ।
चामलसँग साटेको कोदो पालिकाले कैलाली, नेपालगञ्जतिर निर्यात गर्छ । “शहरमा कोदोको भाउ बढे पनि हामीले निर्यात गर्दा भने त्यति राम्रो मूल्य आउँदैन । तर पनि गाउँमा उत्पादन नघटोस् भनेर पालिकाले यो अभियान चलाएको हो,” पालिकाका एम.आई.एस. अपरेटर कालु बोहोराले बताउनुभयो ।
चौरपाटी गाउँपालिकाको कुल १८२.१७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ८२.२७ वर्ग किलोमिटरमा खेती गरिन्छ । यसमा सबैभन्दा धेरै कोदो, मकै र गहुँ उत्पादन हुन्छ ।
पालिकामा हालसम्म १ सय ५५ क्वीन्टल ५० केजी कोदो संकलन भएको छ । २६ मंसीरदेखि शुरू भएको यो कार्यक्रम ११ पुससम्म सञ्चालन हुनेछ ।