कोभिड १९ बिरुद्धको खोप कार्यक्रमको प्रगती र आगामी कार्ययोजना सम्वन्धि छलफल तथा पालिका स्तरिय बैठक मंगलसेनमा सम्पन्न
अछाम २९ पौषः
कोभिड १९ बिरुद्धको खोप कार्यक्रमको प्रगती र आगामी कार्ययोजना सम्वन्धि छलफल तथा पालिका स्तरिय बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा सुआहारा कार्यक्रम अछामको सहयोगमा कार्यक्रम भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले अवदेखी नगरपालिका र मातहतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई पूर्ण खोप लगाउन प्रेरित गर्न निर्देशन दिनुभयो । अवका दिनमा कोरोना खोप नलगाएकाहरुलाई सरकारी सेवाबाट वञ्चित गराउने गरि नगरपालिका अघि बढ्ने भन्दै उहाँले सबैलाई खोपको दायराभीत्र आउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नगरपालिकामा कोरोना बिरुद्धको खोपको हालसम्मको अवस्थाकाका विषयमा छलफल गरिएको थियो । नगरपालिकाको कुल ३८ हजार ९५ जनसंख्या मध्ये २९ हजार २ सय ७९ जनालाई पूर्ण खोप लगाउनुपर्ने लक्ष रहेकोमा हालसम्म १३ हजार १ सय ९८ जनालाई खोपको पूरा मात्रा लगाईएको तथ्यंक सार्वजनिक गरिएको थियो । नगरमा हालसम्म पहिलो मात्रा खोप १४ हजार ३ सय २३ जनाले लगाएका जनाईएको छ ।
यस्तै अछाम जिल्ला भरीमा ४९ प्रतिशतले पूर्ण खोप लगाएको तथ्यंक रहेको छ । समग्रमा खोप लगाउने दर अपेक्षाकृत रुपमा नभएकोले सबैलाई खोप लगाउन प्रेरित गर्नुपर्नेमा सहभागी सरोकारवालाको जोड थियो । कार्यक्रम मार्फत आगामी दिनमा कोरोना बिरुद्धको खोप कार्यक्रमलाई थप सशक्त रुपमा अगाडी बढाउनका लागि ५ बुदे कार्ययोजना समेत तयार पारेको छ ।
नगर उपप्रमुख सरिता उपाध्याय, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना लगायत सबै वडा अध्यक्ष र स्वास्थ्यकर्मीको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना र सुआहारा कार्यक्रम अछामका संयोजक सेत बहादुर भुलले कोभिड १९ बिरुद्धको खोप कार्यक्रम अन्तरगत भए गरेका कामकार्य सहितको जानकारीमूलक प्रस्तुती राख्नुभएको थियो ।
स्वास्थ्य शाखाका सिनियर अनमी ज्ञानु माझिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले गर्नुभएको थियो ।