टेकराज भण्डारी माघ १९, अछाम अछामका एक पुरुषकाे भारतमा सवारी दुर्घटनामा परी ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ थाल्पाटा निवासी ५३ बर्षका सूर्य बहादुर बुढाको भारतको बङ्गलोरमा सवारी दुर्घटनामा परी उपचारको क्रममा निधन भएको हाे ।
गत मंसिर महिनामा बुढा सवार बस दुर्घटना हुँदा गम्भीर घाईते भएका उहाँकाे बुधबार ज्यान गएकाे मृतकका भतिजा समेत रहनु भएका बसुन्धरा माध्यमिक विद्यालय भैरवस्थानका शिक्षक राज बहादुर बिसीले बताउनु भयो । दुर्घटनामा परी घाईते भएका उहाँकाे उपचारकाे क्रममा करिब १० लाख बढी खर्च समेत भैसकेकाे शिक्षक बिसीले बताउनु भयाे ।
श्रीमती सहित ४ छाेरा र १ छाेरी रहेका बुढा राेजागारीका लागि श्रीमती संगै गत मंसिर महिनामा भारत गएका थिए । भारत गएकाे केही दिनमै दुर्घटनामा परेका उहाँको विभिन्न अस्पतालमा उपचार गर्दै ठुलाे धनराशी खर्च भएको र अन्ततः उहाँकाे नै निधन भए पछि आश्रित परिवार समस्यामा परेकाे छ ।
भारत गएकाे केही दिनमै दुर्घटनामा पर्नु र करिब २ महिनामै बुढाकाे ज्यान गएपछि आश्रित परिवार विचल्लीमा परेका हुन् । “सञ्चाे हुने आशामा उपचार गरियाे, १०/१२ लाख खर्च समेत भयाे अहिले न धन रह्याे, न ज्यान रह्याे” भारतमा रहेकी मृतक बुढाकी श्रीमती रसिला देबि बुढाले रुँदै भनिन् ।
आफू लगायत भाईबहिनीकाे पढाईलेखाई, पालनपाेषणमा बुवाकाे मृत्युले ठुलाे समस्या सिर्जना गरेकाे मृतकका जेठा छाेरा तिलक बहादुर बुढाले बताउनु भयाे । सुदूरपश्चिमको पहाडी जिल्ला अछामबाट राेजगारीकाे लागि अधिकांश व्यक्तिहरु भारत जाने जाने गर्दछन् ।
सुरक्षा, बिमा लगायतका कुनै पनि प्रावधान बिना जाेखिमपूर्ण काम गर्न बाध्य उनीहरुकाे सेवा सुविधा पनि न्यून हुने गरेकाे भारतमा काम गर्दै आउनु भएकाहरुले बताउने गरेका छन् । प्रदेश तथा जिल्लामा राेजगारीका प्रयाप्त अवसर नहुँदा बर्सेनि युवाहरु भारत लगायत तेस्राे मुलुक गैरहेका छन् ।
२०७८ सालकाे जनगणनाकाे प्रारम्भिक नतिजा अनुसार ४९ हजार ९ सय ६९ परिवार संख्या रहेकाे अछामका अधिकांश घरपरिवारबाट कम्तिमा एक जना भारतमा रहने गरेकाे सराेकारवालाहरु बताउने गर्दछन् ।
संघ, प्रदेश तथा स्थानीय तहबाट राेजगारीका केही गतिविधि सञ्चालन भए पनि त्याे प्रयाप्त नहुँदा बाहिर जाने क्रम घटेकाे पाईदैन । भारतमा काम गर्ने क्रममा दुर्घटना हुने, बेपत्ता हुने लगायतका समस्या बढ्दै गैरहेका छन् ।