
अछाम : न्यायमा सहजताका लागि मंगलसेन नगरपालिकाले नगरका दुई स्थानमा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।
मंगलसेन नगरपालिका–१ कुन्ती, २ मिस्तुरु र १३ वस्तीको केन्द्र रहने गरेर वडा नम्बर १ को कुन्तीको वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।
यस्तै वडा नम्बर ६ तेसिङ्गे र ७ जनालीको मेलमिलाप केन्द्र वडा ६ को वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना हिजोबाट सञ्चालनमा ल्याएको छ ।

नगररको न्यायिक समितिले हेर्न मिल्ने सानातिना विषयलाई गाउँमै मेलमिलाप माध्यमबाट टुंङ्गयाउनका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले जानकारी दिनुभयो ।
दुवै स्थानमा मेलमिलाप केन्द्रको उद्घाट तथा सामग्री हस्तान्तरण गर्दै उपप्रमुख उपाध्यायले गाउँमै मिल्न सक्ने विवादलाई उपयुक्त माध्यमबाट मिलाउन मेलमिलापकर्तालाई सुझाव दिनुभयो साना विवादलाई गाउँमै मिलाउनका मंगलसेन नगरपालिकाले प्रत्येक वडामा मेलमिलापकर्तालाई तालिम दिएर खटाएको छ ।

मेलमिलाप केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने नगरपालिकाको योजना रहेको न्यायिक समितिका उजुरी प्रशासक नरेशबहादुर कठायतले जानकारी दिनुभयो ।
नगरपालिकाले हालसम्म निर्माण गरेका कानुन, मेलमिलापकर्तालाई सहयागी अध्ययन सामग्री हस्तान्तरण गरिएको छ ।

कुन्तीमा मेलमिलाप केन्द्रको सुभारम्भ कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय, वडा नं १ का अध्यक्ष गोपालबहादुर थापा, २ का अध्यक्ष मानबहादुर बोगटी, उजुरी प्रशासक नरेशबहादुर कठायत, सूचना प्रविधि अधिकृत पौरख बोगटी, कम्प्युटर अपरेटर डण्डीप्रसाद ढुंगानालगायतको सहभागिता रहेको थियो ।
यस्तै वडा नम्बर ६ को तेसिङ्गेमा स्थापना गरिएको मेलमिलाप केन्द्रमा उपप्रमुख उपाध्याय, वडा नं. ६ का अध्यक्ष जनकराज भण्डारी, वडा नं. ३ का अध्यक्ष तथा न्यायिक समिति सदस्य पदमसिंह भाट, सूचना प्रविधि अधिकृत पौरख बोगटीलगायतको सहभागिता रहेको थियो ।