निर्माण सामग्रीमा मूल्यवृद्धि : निर्माण क्षेत्र मारमा परेको भन्दै महासङ्घको ध्यानाकर्षण

  मंसिर १५, २०७७ सोमबार ८:२४:३३

काठमाण्डाै – निर्माणका काम सुरु हुने बेला निर्माण सामग्रीमा मूल्यवृद्धि र कालोबजारी बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण झण्डै ८ महिना निर्माणका काम सुस्त भएका थिए । तर निर्माणका काम अगाडि बढाउने बेलामा निर्माण सामग्रीमा मूल्य बढेको हो । चौतर्फी समस्याले काम गर्न समस्या भइरहेको समयमा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

निर्माणका काम सुरु हुने समयमा निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको जनाएको छ । फलामजन्य निर्माण सामग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनी र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्यवृद्धि गरेको महासङ्घको भनाइ छ ।

फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा धेरै मूल्यवृद्धि गरी मिलेमतो गरेको देखिएको महासङ्घका महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नदीजन्य सामग्रीको उत्खनन र बिक्री–वितरण गर्न नपाइने गृह मन्त्रालयको पछिल्लो निर्णयप्रति पनि महासङ्घले असन्तुष्टि जनाएको छ । यो निर्णयले निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भएर परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको भन्दै महासङ्घले सरोकार सबै निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।

केही महिना अगाडिको मूल्य र अहिलेको मूल्यमा डन्डीमा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको महासङ्घले जनाएको छ । यसले गर्दा विशेषगरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button