अछामका ५५ मतदान केन्द्र अति संवेदनशील

अछाम : स्थानीय तह निर्वाचनमा जिल्ला सुरक्षा समितिले ५५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको छ। जिल्लामा २०७ मतदान केन्द्र मध्ये ५५ लाई अति संवेदनशील,५४ संवेदनशील,२१ सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले जानकारी दिए।

जिल्लामा १ सय ३० मतदान स्थल रहेका छन्। मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको उनले बताए। उनले भने, ‘विगतको स्थानीय तहको निर्वाचन समिक्षा,भुगोल,सुरक्षाको अवस्था र बाटोको पहुँचको अवस्था हेरेर ३ भागमा वर्गीकरण गरेका छौं।

अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छौं र त्यहाँ अपनाउनुपर्ने सुरक्षा सतर्कताको बारेमा काम गरिरहेका छौं। निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि र्‍यालीसम्मका लागि सुरक्षा व्यवस्था तयार पारेका छौं।’ 

६ गाउँपालिका, ४ नगरपालिका रहेको अछाममा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिने छ। मतदानस्थलको सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी मरासेनीको भनाइ छ।

मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन्। भौगोलिक विकटता, सहज रूपमा सवारी साधनको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको प्रजिअ मरासेनीले बताए। निर्वाचनलाई मध्य नजर गर्दे सो अवधि भर लाइसन्स प्राप्त हातहतियार बुझाउन सुचना जारी गरिएको छ।

जिल्लामा १ लाख ५६ हजार २ सय ८० मतदाता संख्या रहेको छ। ०७४ सालको निर्वाचन भन्दा यो पटक २८ हजार ५ सय ४० मतदाता संख्या थपिएको छ। ०७४ सालको निर्वाचनमा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा ३७ हजार ५ सय ५५ मतदाता निर्वाचनमा सहभागी नभएको तंथाक रहेको छ। annapurnapost बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button