टेकराज भण्डारी बैशाख ८, अछाम : अछामको दश वटै पालिकामा बिहीबार निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएका छन् ।
जिल्ला सदरमुकाम मंगलसेनमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सहित मंगलसेन नगरपालिकाका लागि र अन्य ९ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाममा जिल्ला अदालतमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरियाे । मुख्य निर्वाचन अधिकृत मनाेज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, प्रहरी नायब उपरीक्षक रविराज थपलिया, निर्वाचन अधिकारी कृष्णसिंह नायक लगायतको उपस्थितिमा कार्यालय स्थापना गरिएको हाे ।
बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको आवश्यक तयारीका कामहरु अगाडि बढाउन कार्यालय स्थापना गरिएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा लक्ष्मी प्रसाद बास्कोटा, कमलबजारमा चुडाराज सापकाेटा, चाैरपाटीमा पदमराज जाेशी, ढकारीमा गणेश बहादुर सिंह र तुर्माखाँदमा भेषराज पाैडेल निर्वाचन अधिकृत रहनु भएको छ। यसैगरी बान्नीगढी जयगढमा हरिष पन्त, मेल्लेखमा राजु कुँवर, रामाराेशनमा राम बहादुर केसी तथा साँफेबगरमा याम नारायण गाैली निर्वाचन अधिकृत खटिनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय संगै कार्यालयमा खटिने कर्मचारीलाई समेत जिम्मेवारी ताेकिएकाे छ । निर्वाचनका विषयमा छलफल गर्न शुक्रवार पालिका स्थित सबै राजनैतिक दल र सरोकारवालाको बैठक बोलाइ निर्वाचन आचारसंहिता, अन्य तयारीका बिषयमा निर्णय गरिने पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचन अधिकृत बास्कोटाले जानकारी दिनुभयाे ।