नगरप्रमुख लाई काेराेना देखिएपछि नगरपालिका सिल

टेकराज भण्डारी, मंसिर १५, अछाम

अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे पिसिआर परिक्षण प्रयोगशालामा मंसिर १४ गते स्वाब दिएर गरिएको परिक्षणमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ निवासी ६६ बर्षका नगरप्रमुख देवराज देवकोटालाई संक्रमण पुष्टि भएको थियो ।

नगरप्रमुख देवकोटालाई कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भए पछि नगरपालिकाका अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण काम बन्द गर्ने गरि नगरपालिका सील गरिएको नगरपालिकाका निमित्त प्रशाशकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिनुभयाे ।

“नगरप्रमुखलाई काेराेना देखिएपछि उहाँसंग सम्पर्कमा आएका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको स्वाब परिक्षण गर्नुपर्ने भएकोले नगरपालिका बन्द गर्नु परेकाे” प्रशाशकीय अधिकृत माझीले जारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।

अर्काे सूचना जारी नभए सम्म नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताईएकाे छ । नगरप्रमुख देवकोटासंग सम्पर्कमा आएका सम्पूर्णलाई सतर्क रही स्वास्थ्य परिक्षण गराउन समेत अनुराेध गरिएको छ ।

नगरप्रमुख देबकाेटालाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयाे ।

आफ्नाे स्वास्थ्य अवस्था हाल सामान्य रहेको र सेल्फ आईसाेलेशनमा बस्ने नगरप्रमुख देबकाेटाले बताउनु भयाे । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढीरहेकाे छ । हाल जिल्लामा संक्रमितको संख्या ११ सय ८२ जना पुगेको छ । जसमध्ये ११ सय ४८ जना निकाे भई घर फर्किसकेका छन् भने ४ जनाकाे काेरानाका कारण ज्यान गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button