
टेकराज भण्डारी, जेठ २१, अछाम अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफुले गाउँपालिकाका समग्र विकासको लागि सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको छ । चुनावको बेला नेकपा एमालेले टिकट दिएर निर्वाचनामा होमिएको र विजयी भैसकेपछि अब समग्र पालिकाको अध्यक्ष भएको भन्दै सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताउनु भएको हो । गाउँपालिकाको समग्र विकासको लागि आफुले तयार गरेको घोषणापत्र, चुनावमा गरेका प्रतिवद्धता तथा स्थानीयको आवश्यक्ताका आधारमा काम गर्ने बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा अनेरास्ववियू स्थायी कमिटि सदस्य समेत रहनु भएका अध्यक्ष विसीले तुमाँखादका विभिन्न सम्भावनालाई उजागर गरी अघि बढ्ने समेत बताउनु भएको छ । विगतका जनप्रतिनिधिले गरेका राम्रा कामलाई आत्मसाथ गदै अघि बढ्ने भन्दै उहाँले पालिकामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । शिक्षा क्षेत्रको सुधार र विकास नगरी अन्य क्षेत्र राम्रो नहुने आफ्नो अनुभव रहेको भन्दै पालिकामा कक्षा १० सम्मको शिक्षा निःशुल्क गर्ने, निजि श्रोतका शिक्षकको व्यवस्थापन गर्ने, तुर्माखाँद बहुमुखी क्याम्पस संचालन गर्ने, रहफमा कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्ने लगायतका निर्णय गरेको भन्दै अब यसको कार्यान्वयनमा जोड दिने अध्यक्ष बिसीको भनाई छ ।
आफ्नो व्यक्तिगत स्वार्थ तथा अपेक्षा कुनै पनि नभएको भन्दै सामुहिक विकासका लागि नै आफ्नो ध्यान हुने उहाँको दाबी छ । हरेकका व्यक्तिगत चाहना पूरा गर्न नसकिने भन्दै सामुहिक विकास तथा देखिने गरी विकासका काममा आफ्नो जोड रहने अध्यक्ष बिसीको भनाई छ । पालिकाका वडा नम्बर १ र २ मा सडक सञ्चालनको लागि पालिकाकाले पहल गर्ने भन्दै पहिलो बर्षमै दुबै वडामा यातायातको पहुँच पुर्याउने लक्ष्य रहेको अध्यक्ष बिसीले बताउनु भयो ।
एक अर्को प्रशंगमा बोल्दै अध्यक्ष विसीले तुर्माखाँद गाउँपालिका क्षेत्रमा २ वटा राष्ट्रिय गौरबका योजना अपर कर्णाली जलविद्युत आयोजना र बेतन कर्णाली जलविद्युत आयोजना रहेको उल्लेख गर्नुभयो । बेतन कर्णालीको कामले गति लिएपनि भारतीय जीएमआर कम्पनीले जिम्मा लिएको अपर कर्णालीको काम हाल ठप्प प्रायः रहेको बताउनु भयो । यसमा पालिकाको क्षेत्राधिकार नभएपनि पालिकाको तर्फबाट घच्घचाउने र समन्वय गर्ने उहाँको भनाई छ । लामो समयदेखि जीएमआरले ओगटेको उक्त योजना कि छिटो बनाउनुपर्ने नभए फिर्ता हुनुपर्नेमा जोड दिनुभयो ।