अछाम : विनोद शाहीको शंकास्पद मृत्यु प्रकरणलाई लिएर स्थानीयले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय अछामले निषेधाज्ञा जारी गरेको थियो ।
तर निषेधाज्ञाका बीच पनि स्थानीयले सदरमुकाम मंगलसेनमा प्रदर्शन गरेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागि संघर्षरत समूहले मंगलबार विरोध प्रदर्शन गरेको हो ।
१६ वर्षीय किशोर विनोदको न्यायका लागि चरणबद्ध आन्दोलन गर्दै आएका राजनीतिक दल तथा आफन्तले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलाई निलम्बन गर्न माग गरेका छन् । कोणसभामा बोल्दै सहभागीले विनोदको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका क्रममा सोमबार प्रहरीले दमन गरेको भन्दै आक्रोश व्यक्त गरे ।
कोणसभामा बोल्दै अनेरास्ववियु अछामका सचिव भीम बडाहितले विनोद हत्या प्रकरणमा निस्पक्ष अनुसन्धान तथा छानबिन गर्नुको सट्टा अपराधीलाई संरक्षण गर्ने काम भइरहेको आरोप लगाए ।
नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सचिवालय सदस्य मीना धामीले सत्ता र शक्तिको आडमा हत्या गर्ने छुट कसैलाई पनि नभएको भन्दै घटनामा संलग्नहरूमाथि कारबाही गर्न माग गरिन् ।
सोमबार जिल्ला अदालतनजिकै प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप तथा हातपात भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको थियो । हातपातका क्रममा एक दर्जन प्रहरी घाइते भएको प्रहरीको दाबी छ ।
जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै सदरमुकाम मंगलसेनका छवटा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
विनोदको हत्या भएको भन्दै विभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दासमेत उनीहरूलाई पक्राउ नगरेको भन्दै आफन्तसहित विभिन्न राजनीतिक दलले संयुक्त रूपमा चरणबद्ध सङ्घर्ष गर्दै आइरहेका छन् ।
३० वैशाखमा भएको स्थानीय चुनावको विषयमा जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानको कुच्चिमा विवाद भई प्रहरी गाउँमा पुग्दा बेपत्ता भएका १६ वर्षीय विनोद जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए । विनोदको कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।