मालिका मावि बारलामा गणित शिक्षक नहुँदा विद्यार्थीकाे पढाइ प्रभावित, पदपूर्तिका लागि पहल नगरेकाे अभिभावककाे गुनासाे

टेकराज भण्डारी, असार २४, अछाम  अछामकाे मालिका माध्यामिक विद्यालय बारलामा गणित बिषयकाे माध्यमिक शिक्षक नहुँदा विद्यार्थीकाे पठनपाठन प्रभावित भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ मा रहेकाे विद्यालयमा गत बैशाख महिनादेखि शिक्षक नभएपछि पठनपाठन प्रभावित भएको हाे ।

विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र भुल गत बैशाख महिनामा गएपछि त्यसपछि शिक्षककाे पदपूर्ति नभएको हाे । गणित विषयकाे शिक्षक नभए पछि माध्यमिक तहका विद्यार्थीकाे गणित विषयकाे पठनपाठन प्रभाविच बनेकाे अभिभावकले बताएका छन् ।

नगर अनुदान काेटामा शिक्षक पदपूर्ति गर्नुपर्ने भए पनि शिक्षक नभएको २ महिना बढी भैसक्दा समेत शिक्षककाे व्यवस्था नगरिएको पाईएकाे हाे । गणित शिक्षक नहुँदा विशेष गरि अतिरिक्त गणित लिएर अध्ययन गर्ने विद्यार्थी बढी प्रभावित भएका छन् ।

हाल कक्षा १० मा अतिरिक्त गणित लिएर ६ जना विद्यार्थी अध्ययन गरिरहनु भएको र उक्त विषय एक दिन पनि पढाइ नभएको विद्यार्थीले बताएका छन् । आफू अतिरिक्त गणित विषय लिएर १० कक्षामा अध्ययन गरिररहेकाे तर हालसम्म पढाइ नहुँदा अन्याैल रहेकाे एक जना विद्यार्थी नवीन जैसीकाे भनाइ छ । शिक्षक आउलान् र पढाउलान् भन्दा भन्दै २ महिना बितेकाे तर पढाइ नभएको उहाँको भनाइ छ ।

गणित जस्ताे महत्त्वपूर्ण विषयकाे शिक्षक रिक्त हुँदा पनि पदपूर्तिका लागि पहल नगरेकाे अभिभावककाे गुनासाे छ । अतिरिक्त गणित लिएर अध्ययन गर्ने विद्यार्थीकाे भविष्य के हाेला भन्दै अभिभावकले चिन्ता व्यक्त गर्नुभएको छ । व्यवस्थापन समितिले शिक्षक पदपूर्तिका लागि चाँसाे नदेखाएकाे भन्दै एकजना अभिभावक धिरज जैसीले दुखेसो गर्नुभएको छ ।

गणित शिक्षक नभएर पठनपाठन प्रभावित हुँदा समेत व्यवस्थापन समितिकाे ध्यान नगएकाे भन्दै जैसीले विद्यार्थीकाे भविष्यमाथि राजनीति नगरिदिन आग्रह गर्नुभएको छ । शिक्षककाे पदपूर्तिकाे लागि विज्ञापन नै सार्वजनिक नगरिएको उहाँको दाबी छ । अहिलेकाे अवस्थामा विज्ञापन गर्दा शिक्षक नआउने कुरा नै हुँदैन, तर विज्ञापन नभएको भए पनि गाेप्य गरि भएको हुनसक्ने उहाँको आराेप छ ।

साेही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका जैसीले विद्यालयमा कहिल्यै पनि गणित, अतिरिक्त गणित लगातयतका विषयकाे काेर्श पूरा नहुने गरेकाे अनुभव सुनाउनुभयाे । विद्यालयमा कार्यरत एक जना शिक्षकले पनि शिक्षक पदपूर्तिका लागि विज्ञापन नभएको बताउनुभयो । हाल कक्षा ११-१२ मा अध्यापनरत एक जना शिक्षकले गणित विषय पढाईरहनु भएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र शाहीकाे भनाइ छ ।

तर व्यवस्थापन विषयकाे शिक्षकले गणित पढाउँदा प्रभावकारी नहुने अभिभावककाे भनाइ छ । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनालले भने पदपूर्तिका लागि २ पटक विज्ञापन भएकाे तर काेही सम्पर्कमा नआएकाे बताउनुभएको छ । विएस्सी शिक्षकका लागि पहिलाेपटक विज्ञापन गर्दा काेही सम्पर्कमा नआएकाे र दाेस्राे पटक विज्ञापन गर्दा केही व्यक्ति सम्पर्कमा आएकाे उहाँको भनाइ छ । अब केही दिनमै पदपूर्ति गरिने अध्यक्ष खनालले बताउनु भयाे ।

हाल आफु बाहिर रहेको भन्दै केही दिनमा प्रक्रिया पुरा गरि शिक्षक नियुक्ति हुने उहाँको भनाइ छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षक पदपूर्तिका लागि अनुमती लिएर कम्तिमा १५ दिनकाे अवधि राखेर सार्वजनिक सुचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लक्ष्मण गिरीले बताउनु भयाे ।

सुचना सबैले देख्ने र पढ्न सक्ने ठाउँमा टाँस गर्नुपर्ने व्यवस्था रहेकाे उहाँको भनाइ छ । पत्रिकामा पुरानाे मितिमा सुचना प्रकाशन गरि आफ्नाे मान्छेलाई शिक्षक बनाउने प्रवृत्ति बढ्दै गएकाे सराेकारवालाकाे भनाइ छ । यसबाट शिक्षाकाे गुणस्तर झनै खस्कने सराेकारवाला बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button