विनोद शाही मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि थुनामा

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिनुभयाे ।

श्रेस्तदार पौडेलले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको बताउँदै अन्य फरार रहेकाहरुको खोजी गरेर पेश गर्न प्रहरीलाई आदेश गरिएको जानकारि दिनुभएकाे छ ।

२१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरु प्रहरी कार्यालयबाटै छुटिसकेका छन् ।

पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको हो ।

तर सरकारी वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

अनलाइन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button