मंगलसेनका वडा वडामा घुम्ती सेवा सञ्चालन, स्थानीय खुसी

टेकराज भण्डारी, साउन ७, अछाम  अछामको मंगलसेन नगरपालिकाले नगरका सबै वडामा घुम्ती सेवाकाे सुरुवात गरेकाे छ । नगरपालिकाका १४ वटै वडामा नागरिकलाई विभिन्न सेवा दिने उद्देश्यले घुम्ती सेवा सुरु गरिएको हाे ।

शुक्रबारदेखि नगरकाे वडा नम्बर १३ बस्तीबाट सेवा शुरु गरिएको नगरपालिकाका सुचना अधिकारी बिष्णुप्रसाद जैसीले बताउनु भयाे । सेवामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीकाे विवरण नवीकरण, एकीकृत सम्पत्ति कर (मालपाेत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता गर्ने कार्यसमेत भैरहेकाे छ ।

वडा नम्बर १३ काे बस्तीमा ३ टाेलमा सेवा सञ्चालन हुने छन् । नगरबाट टाढा रहेका बस्ती, कालागाउँ, बान्नाताेली लगायतका क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले सबै वडामा घुम्ती सेवा सञ्चालन गरिएको नगरपालिका प्रमुख पदम बहादुर बाेहराकाे भनाइ छ ।

बस्तीबाट पचास, एकसय रुपैयाँ एकीकृत सम्पत्ति कर बुझाउन मंगलसेन आउँदा १ हजार बढी खर्च गर्नुपर्ने नागरिकलाई टाेलमै सेवा पाउँदा ठुलाे राहत पुगेकाे शिविरमा सेवा दिईरहेका एमआईएस अपरेटर हाेम साउँदकाे भनाइ छ ।

साथै नगरपालिकाले करकाे दर नभई करकाे दायरा बढाउने लक्ष्य अनुरुप गाउँठाउँमै व्यापार व्यवसाय सञ्चालन गरीरहेकाहरुकाे व्यवसाय दर्ता कार्य समेत भैरहेकाे छ । शनिवार बस्तीकाे बाणामा एकजनाले व्यवसाय दर्ता गराउनु भएको उहाँकाे भनाइ छ ।

साउन महिनाभरी नगरका १४ वटै वडामा भ्याउने गरि घुम्ती सेवा सञ्चालन हुने सुचना अधिकारी जैसीकाे भनाइ छ । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीकाे विवरण नवीकरणका लागि नाम सच्याउने, अधुराे विवरण पूरा गर्ने, उमेर पुगेका बालबालिका तथा मृत्यु भएकाहरुकाे नाम हटाउने लगायतका कार्यले राज्यकाे स्राेतकाे सदुपयोगमा समेत टेवा पुग्ने मंगलसेन नगरपालिका शुशासन समितिका संयाेजक ज्ञानेन्द्र बाेहराकाे भनाइ छ ।

विगतमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीकाे विवरण नवीकरण गर्ने मात्रै प्रयाेजनले वडा वडामा सेवा दिने भए पनि याे बर्ष शुशासन समितिको साउन १ गतेकाे बैठकले थप सेवा समेत प्रदान गर्ने निर्णय गरिएको संयाेजक बाेहराले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button