पहिरोमा फसेका सबै गाडी पार हुन नपाउँदै फेरि पहिरो, लेन अनुशासन पालना गर्न आग्रह

काठमाण्डाै – सोमबार राति ११ बजेतिर पहिरोले बन्द भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति साढे १० बजेतिर खुल्यो । झण्डै २४ घण्टासम्म रोकिएका सबै गाडी पार हुन नपाउँदै फेरि त्यही ठाउँमा पहिरो खस्यो र अहिले फेरि सडक अवरुद्ध भएको छ ।पहिराेले फेरि बन्द भएपछि डाेजर लगाएर पहिराे पन्छाइँदै पहिराेले फेरि बन्द भएपछि डाेजर लगाएर पहिराे पन्छाइँदै

भरतपुर महानगरपालिका २९ मा पर्ने मौरीपुल केराबारीमा पहाडको ढिस्को नै खसेकाले पहिरो पन्छाउन समस्या भएको छ । ‘सोमबार राति बल्लबल्ल सडक खुलाएका थियौं, चारघण्टामै उसैगरी अर्को पहिरो खस्दा सडक अवरुद्ध भयो’ डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

गएराति चार घण्टा सडक खुल्दा अघिल्लो रातिदेखि रोकिएका सबै गाडी पार हुन पाएनन् । सडक खुलेको बेला धेरै गाडी पार भए, तर सबै पार हुन पाएनन्’ इञ्जिनियर कार्कीले भन्नुभयो, ‘पहिरो खुलेलगत्तै सबै गाडी लेन अनुशासनको वास्तै नगरी तँछाडमछाड गरी चल्दा जाम हुने गरेको छ । पहिरोको जामले भन्दा पनि गाडीको जामले सबै गाडी पार हुन पाएनन् ।’

सडक खुलेपछि लेन अनुशासन पालना गरेर मात्रै गाडी चलाउन उहाँले आग्रह गर्नुभएको छ । ‘फेरि खसेको पहिरो पन्छाउने काम भैरहेको छ, केही घण्टामै सडक खुल्न सक्छ । सडक खुलेको बेला सबै गाडीले लेन अनुशासन पालना गरेमा समस्या हुँदैन’ उहाँले भन्नुभयो । 

काठमाण्डौ उपत्यकालाई देशका मुख्य ठाउँसँग जोड्ने मुग्लिन–नारायणगढ सडक खण्डमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली हुने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button