
टेकराज भण्डारी, अछाम । अछामको कमलबजार नगरपालिका – ७ सेराका दुई जना बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।
कमलबजार नगर दलित एकता समाज अछामले क्यान्सर पीडित नरी ढोली र मिर्गौला तथा मधुमेह पीडित गंगे सुनारलाई आर्थिक सहयोग गरिएको हो ।
एक कार्यक्रमका बीच ढोलीलाई ६ हजार पाँच सय नगद र सुनारलाई ५ हजार नगद हस्तान्तरण गरिएको समाजका अध्यक्ष मिलन नेपालीले जानकारी दिनुभएको छ ।
आर्थिक अवस्था कमजोर भई उपचार गराउन समस्या भइरहेको अवस्थामा केही राहत होस् भनेर पीडितको घरमै गएर रकम हस्तान्तरण गरिएको हो ।
कमलबजार नगरपालिका वडा नं ७ सेरा निवासी ढोली र सुनार दुवै जना लामो समयदेखि स्वास्थ्य समस्याको पीडामा रहेका छन् । सबैले उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन हुन समाजले अपिल समेत गरेको छ ।
पछिल्लो समय कमलबजार दलित एकता समाजले दलित समुदायका विभिन्न समस्यालाई लिएर अघि बढिरहेको र आगामी दिनमा विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्ने कार्यमा निरन्तर लागि रहने समाजका अध्यक्ष नेपालीले बताउनुभयो ।