मंगलसेन नगरपालिकाद्धारा नगरक्षेत्रका सडकको स्तरोन्नती गर्ने कार्य शुरु

आनन्द साउद, साउन २३, अछाम : मंगलसेन नगरपालिकाले नगरक्षेत्रका सडकको स्तरोन्नती गर्ने कार्य शुरु गरेको छ । नगरका सबै वडाका कार्यालयसम्मको ट्रयाक खोल्ने काम भैसकेको छ भने अन्य सडक निर्माण तथा मर्मतका काममा समेत अग्रसर भैरहेको छ । सोही अनुसार नगरको गौरबको योजनाको रुपमा ठुलासेन– तेसिंगे डम्पिङ साईड सडकको ग्राभेल गर्ने कार्यको शुरुवात गरेको छ ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैन देखि डम्पिङ साईड सम्मको करिब ३ किलोमिटर सडक मध्ये हाल ४ सय ८० मिटर सडक ग्राभेल गरिएको छ । पक्की नाली सहित ४ सय ८० मिटर सडकमा ग्राभेल गर्ने काम भएको मंगलसेन नगरपालिकाका ईन्जिनियर खम्म केसीले बताउनु भयो । नगरपालिकाको पहिलो ग्राभेल सडकका रुपमा नगरले महत्वका साथ सडक निर्माण गरेको उहाँको भनाई छ ।

सडकको पटकपटक अनुगमन गरेर गुणस्तरीय काम गर्न घचघचाएको र सोही अनुरुप सडक निर्माण भएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराको भनाई छ । आफुले बुझेअनुसार सडक राम्रो बनेको पाएको र थप कुरा प्राविधिकको टोलीलले पनि अध्ययन गर्ने नगरप्रमुख बोहराले बताउनु भयो ।

मंगलसेन नगरपालिकाले हिमाल पहाड समृद्धि कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा सडक निर्माण गरेको हो । उपभोक्ता समिति मार्फत सडक निर्माण गरिएको हो । आफुहरुले सबैसंग समन्वय गर्दै मापदण्ड अनुसार सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष पुष्पराज भण्डारीको भनाई छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रिङरोड अन्तर्गत पनि उक्त सडक रहेको छ । ठुलासेनदेखि पान्लागडा डम्पिङ साईडको सडक स्तरोन्नती भईरहँदा वडा कार्यालय सम्मको सडकको पनि स्तरोन्नती हुनुपर्ने स्थानीयको सुझाव छ । यसका लागि वडाले आगामी दिनमा पहल गर्ने र सडकको स्तरोन्नती गर्ने वडाअध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले बताउनु भयो ।

जिल्लामा सडकका नाममा बर्षेनी करोडौँ रकम खर्च हुन्छ । स्थानीयको आवश्यक्ताका आधारमा वातावरणीय प्रभाव मूल्यांकन गर्दै दिगो सडक निर्माण गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सडकका नाममा जथाभावी डोजरको प्रयोग गर्दै मानव वस्ती नै जोखिममा पर्ने कामलाई सबै मिलि न्यूनीकरण गर्नुपर्छ ।

यसैवीच ठुलासैन–डम्पिङ साईड पान्लागडा सडकको आजै अनुगमन समेत गरिएको छ । नगरप्रमुख बोहराको नेतृत्वमा भएको अनुगमनमा वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा सदस्य दुर्गाप्रसाद भण्डारी, ईन्जिनयर खम्म केसी, सब.ईन्जिनयर पुनम साही, उपभोक्ता समिति समितिका अध्यक्ष पुष्पराज भण्डारी, कोषाध्यक्ष हस्तना भण्डारी, सदस्य पाना भण्डारी, अनुमगन समितिका सदस्य हेमराज भण्डारी, निर्माण व्यवसायी बिष्णु स्वार, स्थानीय टंकप्रसाद भण्डारी, पत्रकार आनन्द साउँद लगायत सरोकारवालाको सहभागिता रहेको थियो । अनुगमन टोलीले काम सन्तोषजनक भएको पाईएको जनाएको छ ।

यसबारे तयार पारिएको रिर्पोट तपाँईले रेडियो रामारोशन बाट सुनि सक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button