अछाममा बाल भेला, जिल्लाभरका बालबालिकाको जमघट

टेकराज भण्डारी २०७९ भदौ १८ गते अछाम । अछाममा जिल्ला स्तरीय बाल भेला सुरु भएको छ । बालबालिकाहरूका सवाल केन्द्रित छलफल तथा जिल्ला स्तरीय बाल सञ्जाल गठन गर्नका लागि बाल भेला आयोजना गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामको आयोजना, आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित भेला २ दिनसम्म चल्ने छ ।

जिल्लाका बालबालिकाको सवालहरूमा छलफल गर्ने, बाल अधिकार बालबालिकासँग सम्बन्धित नीतिगत व्यवस्थाहरूको विश्लेषण गर्ने, बालबालिका सम्बन्धी कार्यविधि निर्माण गर्ने र जिल्ला बाल सञ्जाल गठन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।

शनिबार आज जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवरले बाल भेलाको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै कुवरले बालबालिकाहरू सिर्जनशील, लगनशील र इमान्दार भई देश र समाजलाई उन्नत बनाउनतिर अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो । आफ्नो भविष्य उज्ज्वल बनाउनका लागि आफै सचेत बन्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले कार्यक्रम निकै राम्रो भएको भन्दै बाल भेलाको औचित्य महसुस गर्न सक्नुपर्ने बताउनुभयो । बालबालिकाहरूले नैतिकवान् नागरिक बन्नका लागि अग्रसर हुनुपर्ने बताउँदै उहाँले नैतिकवान् बन्न सके मात्रै जीवन जगत र भविष्यबारे थाहा पाउँन सकिने बताउनुभयो । बाल भेलाको अवसरमा सबै बालबालिकाहरूलाई असल मान्छे बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी मीनराज आचार्य, जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गाना, अछाम क्याम्पस प्रमुख छत्र बिष्ट, नागरिक समाज अछामका अध्यक्ष शङ्कर रावल, मङ्गलसेन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु महत, आस्था नेपालका सचिव कृष्ण देवकोटा, वर्ल्ड भिजनका अछाम प्रतिनिधि मेनका मल्ल, आस्था नेपालका प्रमुख रूपक चन्द लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका प्रेम महरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन कृष्ण उपाध्यायले गर्नुभएको थियो । आइतबारसम्म चल्ने बाल भेलामा अछाम जिल्लाका १० वटै स्थानीय तहबाट बालबालिकाहरू सहभागी छन् । भेलाबाट जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button