
शंकर थापा, भदौ ३०, अछाम : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाम जिल्लाका ५९ विद्यालय छनोट भएका छन् । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन तथा आईसीटी व्यवस्थापनका लागि आवेदन दिएका विद्यालय मध्ये ५९ विद्यालय छनोट भएका हुन् ।
शैक्षिक सुधार कार्यक्रमका लागी सबैभन्दा बढी अछामको रामारोशन गाउँपालिकाका १३ ओटा विद्यालय छनोट भएका छन् भने मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकाका ७÷७, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिकाका ६÷६ ओटा विद्यालय छनोट भएका छन् ।
यसैबिच जिल्लाको कमलबजार गनगरपालिका, साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटि गाउँपालिका र मेल्लेख गाउँपालिकाका ४÷४ ओटा विद्यालय छनोट भएका उल्लेख गरिएको छ ।
छनोटमा परेका ति विद्यालयमा आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण गरिने छन् । चालु आर्थिक वर्षमा १७ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुनेछ भने २० ओटा विद्यालयमा दुई कोठे तथा १८ विद्यालयमा चार कोठे भवन निर्माण हुनेछन् ।
छनोट भएका विद्यालयहरुमा आइसीटी ल्याब स्थापना र भवन निर्माणको लागी आवश्यक बजेट पनि बिनियोजन गरिएको छ । यसैवीच आवश्यक्ता भएका र स्थानीय तहले प्राथमिकिकरण गरी पठाएका विद्यालय समेत कार्यक्रममा नपरेका भन्दै असन्तुष्टि बढेको छ ।
आफ्नो विद्यालयले विगत ३ बर्षदेखि आवेदन दिँदै आएको र यो बर्ष मंगलसेन नगरपालिकाले प्राथमिकिकरण गरेर पठाउँदा समेत छनोट नभएको मालिका आधारभूत विद्यालय ठुलासैनका शिक्षक भक्तराज ढुंगानाले बताउनु भयो । चुहिने भवनमा विद्यार्थी तथा शिक्षक पानी पर्दा भिज्दै पढ्नु तथा पढाउनुपर्ने बाध्यतामा रहेको उहाँको भनाई छ ।


