
टेकराज भण्डारी, असोज ६, अछाम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अछाम पहिरो पीडितका आफन्तलाई राहत प्रदान गर्नुभएको छ ।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ तथा वडा नम्बर ८ ढाँकुका पहिरो पीडितलाई प्रदेश सरकारको तर्फबाट २३ जना मृतकका परिवारलाई १३ लाख ४० हजार राहत रकम प्रदान गर्नुभएको हो ।
२ वा २ भन्दा बढकिो मृत्यु भएका ५ परिवारलाई प्रतिपरिवार २ लाख २० हजार, १ जनाको ज्यान गएका २ परिवारलाई १ लाख २० हजारका दरले २ लाख ४० हजार गरी १३ लाख ४० हजार राहत प्रदान गर्नुभएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनु भयो ।
भाद्र ३१ गते रातीको बाढी र पहिरोमा परी अछाममा ७ परिवारका २३ जनाले ज्यान गुमाएका थिए ।
हेलिकप्टरबाट अछाम आउनुभएका मुख्यमन्त्री भट्ट सहितको टोलीले अछामको कमलबजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा ज्यान गुमाउकाका आफन्तलाई राहत प्रदान गर्नुभएको हो ।
मुख्यमन्त्री भट्ट तथा आन्तरिक मामिला तथा कानून मन्त्री रण बहादुर रावल, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, स्थानीय जनप्रतिनिधि लगायतको सहभागितामा राहत वितरण गरिएको हो ।
वडा नम्बर ६ का ७ जना तथा वडा नम्बर ८ का ५ जना मृतकका आफन्तलाई राहत प्रदान गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै मुख्यमन्त्री भट्टले अहिलेलाई सानो रकम भए पनि जिल्ला बाट प्रहरी र स्थानीय सरकार बाट सत्य तथ्य रिपोर्ट प्रदेश सरकारमा पुगेपछि थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो । घर पूर्ण रुपमा क्षति भएकालाई प्रदेश सरकारबाट ५० हजार तथा संघीय सरकारबाट ४ लाख सहयोग हुने भन्दै सत्यतथ्य विवरण पठाउन र गलत लाभ नलिन आग्रह गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले बाढी पहिरोमा परी मुत्यु भएका घरपरिवारका सदस्यहरूलाई राहतको व्यवस्था मिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै उहाँले विपतबाट बच्न सम्पुर्ण नागरिकहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
क्षतिको एकिन विवरण एक हप्तामा संकलन गरी पठाउन भनेको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भयो । विवरण संकलनका २ टोली बनाइएको छ । मानवीय, भौतिक पूर्वाधार लगायतको क्षतिको विवरण संकलनका लागि सिँचाई डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीको संयोजकत्वमा तथा कृषि तथा पशु सम्बनिध क्षतिको विवरण संकलनका लागि कृषि ज्ञान केन्द्रका प्रमुख छपेन्द्र शर्माको संयोजकत्वमा सरोकारवाला रहने गरी समिति गठन गरिएको छ ।