डेङ्गी संक्रमितको शरीरबाट आउने गन्धले लामखुट्टेलाई आकर्षित गरेको पाइयो : अध्ययन

डेङ्गी भाइरसले संक्रमण भएका मानिसको शरीरबाट आउने गन्धले लामखुट्टेलाई आकर्षित गर्ने गरेको पाइएको छ ।

चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङमा रहेको चिङ्खवा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा डेङ्गी संक्रमण भएपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने र त्यसले लामखुट्टेलाई आकर्षित गर्ने गरेको पाइएको बीबीसीले जनाएको छ । जसको कारण डेङ्गी फैलने सम्भावना धेरै हुन्छ ।

वैज्ञानिक जर्नल सेलुमा प्रकाशित शोधका अनुसार वैज्ञानिकहरू अहिले त्यस गन्धलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन् । विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ । यो भाइरस एसियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ । प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ ।

यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ । केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जिउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन् । डेङ्गी विरुद्ध डेङ्भ्याक्सिया नामको खोप उपलब्ध छ । विश्वका झन्डै २० देशमा प्रयोगका लागि मान्यता पाएकाे खोप नेपालमा भने आइसकेको छैन ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button