निरन्तरको बर्षाले अछामबासी पुनः त्रसित

टेकराज भण्डारी, असोज ९, अछाम

बाढी र पहिरोको परी २३ जनाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै पुनः अबिरल बर्षा हुन थालेपछि अछामबासी त्रसित बनेका छन् । गत भदौ ३१ गते रातीको अबिरल बर्षाले पहिरोमा पुरिएर २२ जना र १ जनाको खोलाले बगाएर ज्यान गएको अछाममा पुनः शनिवार रातीदेखि निरन्तर बर्षा भैरहेको छ ।

जिल्लाको पहिरोपीडित क्षेत्रका स्थानीय अबिरल बर्षाका कारण फेरी त्रसित बनिरहेका छन् । भदौ ३१ गते रातीको पहिरोमा आफ्नो ५ जना परिवारको बियोग खेपेका कमलबजार ८ ढाँकुका कल्लान नेपाली फेरी दुःखद घटना व्यहोर्नुपर्ने हो कि भन्दै चिन्तित हुनुहुन्छ ।

भदौ ३१ बेलुकाका खाना खाएर सुतेका आफ्ना नाति बुहारी सहित ५ जनाको दुःखद निधन भएको भन्दै फेरी मौसमले धोका दिने हो कि भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । फेरी निरन्तरको बर्षाका कारण स्थानीयलाई त्रसित बनाएको सोही ठाउँका हिक्मत नेपालकिो भनाई छ ।

पहिरोमा परी हालसम्म १२ जनाको ज्यान गैसकेको जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि पहिरोको ठुलो जोखिम छ । विभिन्न गाउँ बस्ती पहिरोको जोखिममा रहेका गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनु भयो । आफुहरुले स्थानीयलाई सजग र सचेत रहन आग्रह गरेको र पालिकाले पनि विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिसकेको अध्यक्ष बिसीको भनाई छ ।

जलतथा मौसम विज्ञान विभागले सुदूरपश्चिम क्षेत्रमा ठुलो पानी पर्ने पूर्वानुमान गरेको र अछाम पनि जोखिममा रहेकाले आफुहरुले सचेत रहन सबैलाई आग्रह गरेको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशाशनले जोखिमपूर्ण क्षेत्रमा रहेका र सम्भावित जोखिम हुने क्षेत्रको पुर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ । साथै जिल्लाका कर्णाली, बुढीगंगा, कैलाशखोला जसता क्षेत्रमा पानीको बहाब बढीरहेकाले सचेत रहन तथा विपद् परेमा जिल्ला प्रशाशनमा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्लामा अबिरल बर्षाका कारण पहिरोका कारण ग्रामिण सडक पनि अबरुद्ध भएका छन् । बर्षाका कारण बाटोघाटो, पुलपुलोसा, खेतीबारी, पशुचौपायामा ठुलो क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको एकिन विवरण अझैँ आईनसकेको जनाईएको छ ।

जिल्ला प्रकोप तथा उद्धार समितिको बैठकले गत भदौ ३१ गते पहिरोले मानवीय क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रदेश तथा संघीय सरकालाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button