अछामका बाढी-पहिरो प्रभावितलाई मनोपरामर्श दिइँदै

अछाम । अछामका बाढी पहिरो प्रभावितलाई मनोसामाजिक परामर्श दिन थालिएको छ ।

भाद्र ३१ गते परेको अविरल वर्षाका कारण अछामको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिका गरि २३ जनाले पहिरोमा परि ज्यान गुमाएपछि मृतकका आफन्तजन गहिरो शोकमा रहेका बेला मनोसामाजिक परामर्श दिन थालिएको हो ।

पहिरोमा परेका, घाइते भएका तथा आफन्त गुमाएकाहरू बरबराउने, बेहोस हुने, गहिरो शोकमा डुब्ने लगायतका लक्षण देखाउन थालेपछि मनोपरामर्श थालिएको हो ।

मृतकका परिवार र समुदायका अन्य मानिसमा अत्यन्तै त्रास सिर्जना भएको छ ।

यसै क्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले राहत सामाग्रीसहित सामूहिक तथा व्यक्तिगत रुपमा मनोसामाजिक परामर्श समेत प्रदान गरेको छ ।

असोज ६ गतेदेखि कमलबजार नगरपालिकाको वडा नं ६ र ८ तथा तुर्माखाँद गाउँपालिकाको वडा नं ५ का मृतकका परिवारसँग तथा वडाका अन्य जोखिमयुक्त स्थानका बासिन्दाहरूलाई समेत मनोसामाजिक परामर्श प्रदान गरिएको युएनएफपीएका जिल्ला संयोजक आस्था रिजालले बताउनुभयो ।

प्राकृतिक विपद्जन्य घटनाले मनोसामाजिक असर पारिरहेको अवस्थामा मनोविमर्शका विभिन्न उपायहरू अपनाउनुपर्ने भन्दै विपद्को समयमा समाजमा देखिएको मनोसामाजिक असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर मनोपरामर्श सुरु गरिएको युएनएफपीएका कार्यक्रम अधिकृत भरत गोतामेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button