कात्तिक १, अछाम
अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ मा बाघ (चितुवा) ले ठुलो संख्यामा बाख्रा मारेको छ । विगतदेखि नै किसानका गोठ तथा वनमा चराउन लगेको बेला बाख्रा मार्दै आएको बाघले आईतबार राती एक दर्नन बढी बाख्रा मारेको किसानले बताएका छन् ।
मंगलसेन ६ का पार्वति भण्डारीको खोरमै पसेर बाघले केही बाख्रा मारेको छ भने केही बाख्रा भेट्टाउनै नसकिएको उहाँको भनाई छ । विगत २ बर्षदेखि आयुष बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको खोरमा बाघ पसेर ३ बाख्रा मारेको छ भने ७ बाख्रा नै बेपत्ता पारेको छ ।
राती करिब १२÷१ बजेको समयमा बाघ खोरमा पसेर बाख्रा मारेको पार्वतीले बताउनुभयो । आफुले ऋणकर्ज गरेर पालेका बाख्रा ठुलो संख्यामा बाघले मारेपछि उहाँ चिन्तित हुनुभएको छ । खोरको चुकुल खुस्काएर बाघ खोरमा पसेको बताईएको छ ।
नजिकै रहेको भण्डारी सामुदायिक वनबाट बाघ आएर मारेको उहाँको भनाई छ । यसैगरी वडा नम्बर ६ कै रञ्जना भण्डारीको १ बाख्रा मारेको छ भने २ बाख्रा बेपत्ता बनाएको पीडित भण्डारीको भनाई छ । सोही राती करिब २ बजेतिर झुपाराम भण्डारीको पनि एक बाख्रा मारेको छ भने एक बाख्रा बेपत्ता बनाएको छ । गाउँमै बाघ पसेर यतिठुलो संख्यामा बाख्रा मारेको यो पहिलोपटक हो । किसानले दुःख गरेर पालेका वस्तुभाउ बाघले मार्न थालेपछि किसान चिन्तित र त्रसित बनेका छन् ।
पछिल्लो समय सामुदायिक वन बन्दी क्षेत्र बनाएका कारण बाघ, बँदेल लगायत जंगली जनावर बढेको भण्डारी सामुदायिक बनका अध्यक्ष समेत रहनु भएका मंगलसेन –६ का वडा सदस्य दुर्गा प्रसाद भण्डारीले बताउनु भयो । जंगलको क्षेत्र बढेको, बेसी क्षेत्रमा मान्छेको बसोबास नभएको लगायतका कारणले जंगली जनावर गाउँसम्मै पुग्न थालेको अध्यक्ष भण्डारीको भनाई छ ।