नेकपाको सुलमा थपियो रामचन्द्रको पुल !

  मंसिर २०, २०७७ शनिबार  मिलन तिमिल्सिना

देशका जल्दाबल्दा मूल कुरा भुलेर अर्कोलाई मुला बनाउने मन्त्रजालमा जेलिएका सत्तारुढका मुलीहरु आज पनि बैठकको मेलोमा बसे । मुलीका पनि ठूला दुई मुलीले पहिले एकअर्कोलाई फूल फ्याँक्थे, अहिले पत्थर फ्याल्छन् ।

पहिले भेट्नासाथ ‘कुल’ हुन्थे, अहिले देख्नेबित्तिकै फुलिन्छन् । ‘कुल’ र फूल पहिल्यै सकेर बसेका उनीहरु सुलजस्तो पेचिलो वचनवाण प्रहार गर्न व्यस्त छन् । सुलजस्तो वचनवाण दोहोर्याउनुअघि यसपटकको बैठकमा अचानक पुलको कुरा उठ्यो । 

पहिलो मुलीलाई कार्यकारी मुलीले सोधे : ‘पुलमा भुल्न गएका रामचन्द्रजीलाई किन समातेको ?’

पहिलो मुली कड्किए: ‘मैले समातेको हो र ? तपाईंकै बादललाई सोध्नु न ।’

‘मसित बटारिएका बादललाई के सोध्नु नि । तपाईंसँगै नजिक छन्, त्यै भएर तपाईंकै सिको गरेका होलान् नि ।’

‘धन्न मेरो सिको गरेर एकदिन एकछिनलाई मात्र समातेछन् । तपाईंको सिको गरिरहेका भए त रामचन्द्रलाई स्वर्गै पठाउथे, नत्र ठूलै उधुम मच्चाउँथे ।’

‘भो ती कुरा नगरम् । तपाईंको कुर्सी खोस्न गएका थिएनन् त । जाबो एउटा सानो पुल उद्घाटन गर्न गएका रहेछन् । त्यस्ता मान्छेलाई किन समात्नु ?’ 

‘बेला न कुबेला जन्ती लिएर पुल उद्घाटन गर्न जान पाइन्छ त ?’

‘राजावादीहरुले दिनहुँ गणतन्त्र मुर्दावाद भन्दै नारा उरालेर हिँड्दा चाहिँ केही नगर्ने, रामचन्द्रजीलाई चाहिँ समात्ने ?’

‘हैन रामचन्द्रजीलाई समातेकोमा तपाईंलाई यति धेरै टाउको दुखाई चाहिँ किन नि ?’

‘विचरा चुनाव हारेका, पहिले प्रधानमन्त्री हुन त्यत्रो बल गरेर पनि सधैं कान्लामुनीको भ्यागुतोजस्तो भएका, अहिले पनि पार्टीमा झण्डै मेरो हालमा पुगेका मान्छेको माया लाग्छ नि । त्यसमाथि देशमा कांग्रेस पनि छ भन्ने मान्छेलाई थाहा होओस् न । पुलमा रिबन काटेर चित्त बुझाउन त पाउनुपर्यो नि ।’‘विचरा चुनाव हारेका, पहिले प्रधानमन्त्री हुन त्यत्रो बल गरेर पनि सधैं कान्लामुनीको भ्यागुतोजस्तो भएका, अहिले पनि पार्टीमा झण्डै मेरो हालमा पुगेका मान्छेको माया लाग्छ नि । त्यसमाथि देशमा कांग्रेस पनि छ भन्ने मान्छेलाई थाहा होओस् न । पुलमा रिबन काटेर चित्त बुझाउन त पाउनुपर्यो नि ।’

‘त्यही भएर त अर्को दिन रिवन काट्न दिएको त ! देशमा कम्युनिष्टको हालीमुहाली छ भन्ने पनि त पार्नुपर्यो । देशमा कम्युनिष्टको सरकार छ भन्ने कुरा पहिलो दिन थाहा भयो ! देशमा कांग्रेस बाँकी नै छ भन्ने कुरा दोस्रो दिन थाहा भयो । यसमा के बिग्रियो त ? साँच्चै भन्ने हो भने रामचन्द्रजीलाई तनहुँ हैन, ठोरीमा जिम्मेवारी नै दिएर पठाउने मन थियो मेरो । अब पुलमै चित्त बुझाउँछन् भने त मेरो पनि के लाग्यो र ?’

‘ठोरीमा किन नि ?’

‘आफ्नो निर्बाचन क्षेत्रमा ठोरी छ, ठोरीमा अयोध्या छ, त्यहाँ राम मन्दिर बन्दैछ भन्ने थाहा छैन कि के हो तपाईंलाई । रामको मन्दिरमा प्रचण्डलाई पठाउने र पुज्ने कुरा भएन । त्यसैले रामको मन्दिरमा रामचन्द्रलाई नै पठाउनु पर्यो । कि खुमलटारदेखि बालुवाटारसम्म मेरै हो भनेर प्रधानमन्त्रीको कुर्सी ताक्ने तपाईंलाई नै अयोध्या गएर बस्न मन छ ?’

‘चाहिएन, तपाईंको अयोध्यामा तपाईं नै बस्नुस् । मलाई राम हैन प्रचण्ड भएरै बस्नु छ ।’

‘त्यो त हो, राम बस्ने ठाउँमा हराम र रावण बस्न पनि सुहाउँदैन ।’ 

‘मुख सम्हालेर बोल्नुहोस् । सचिवालयमा पेश गरेको गाली प्रतिवेदनमा अर्को लाइन पनि थप्न नपरोस् ।’

‘त्यस्ता गाली र कटाक्ष तपाईंलाई भन्दा धेरै आउँछ हामीलाई नि । धेरै फूर्ति गर्नै पर्दैन । ताजुब लाग्ने कुरो चाहिँ गाउँगाउँमा सिंहदरबार भन्ने । अनि सिंहदरबार पनि छिर्न नसकेर हारेका सिंहझैं सडकमा झोक्राएर​बस्नेहरु किन जानुपर्यो नि पुल उद्घाटन गर्न ? उतै छन् त सिंहहरु जति पनि ।’

‘त्यस्तै कुरा गर्ने हो भने त तपाईं पनि दौडिरहनुहुन्छ नि एककोठे स्वास्थ्य चौकी पनि उद्घाटन गर्न ।’

‘तपाईंहरु नै मलाई संघीयता विरोधी भन्नुहुन्छ । यसै विरोधी उसै विरोधी, त्यही भएर बेलाबेला जान मन लाग्छ नि । कत्ति न आफू चाहिँ उद्घाटनको लोभी नभएजस्तो ।’

‘तपाईंलाई जत्तिको लोभ चाहिँ छैन ।’

‘त्यो त थाहा भइहाल्यो नि को कतिसम्म पद, पावर र तडकभडकको लोभी छ भनेर ।’

‘ल भैहाल्यो रामचन्द्रजीकै पुलको कुरा गरौं न । मेरो विचारमा यो पुल तपाईं र मलाई जोड्ने पुल पनि हुन सक्छ ।’ 

‘मलाई रामचन्द्रजीको पुलमा विश्वास छैन । शेरबहादुरजीको पुलमा भर लाग्छ ।’

‘शेरबहादुरजीले पुल उद्घाटन गर्ने कहिले कहिले, रामचन्द्रजीले उद्घाटन गरिसके । रामचन्द्रजीको चुरीफुरीले निदाएको बाघ पनि बिउँझियो भनेर कांग्रेसका नेता कार्यकर्ता उफ्रन थालिसके ।’

‘बेलाबेला उफ्रन दिनुपर्छ नि । दुनियाँलाई थाहा होओस् नि यो देशमा कांग्रेस पनि छ भनेर । कति कम्युनिष्टका मात्रै कुरा सुन्नु !’

‘कम्युनिष्टका पनि गतिला कुरा सुन्न पाए त राम्रै हुन्थ्यो नि । तपाईं हाम्रो चाला देखेर कम्युनिष्ट नै बिच्कीसके, अरुको के कुरा गर्नु र ?’

‘मैले बिच्क्याएको हो र ? तपाईं त हो नि निहुँ खोज्ने ।’ 

‘मैले कहाँ निहुँ खोजें ? बालुवाटारमा तपाईं मात्रै बस्नुपर्छ भन्ने छ ? पालो दिनुपर्दैन ?’

‘अर्को चुनावपछि आउँछ नि तपाईको पालो, अहिले हतार गरेर हुन्छ त ?’

‘भो अर्को चुनावमा त पालो आएको आयै हो । कुन चाहिँ मतदाता मुर्ख होलान् र फेरि हामीलाई जिताउलान् । त्यसैले अहिले चाहिन्छ ।’

‘अहिले त कसले छोड्छ र पाउनलाई ?’

‘हेरौंला नछोडी सुख ।’

‘हेरौंला हामी पनि ।’

‘निहुँ खोज्या हो ?

‘हो. ल आइज…।’

‘ए…ए… के गरेको भन्या ।’
…………….
रामचन्द्रको पुलको कुराबाट उठेको कुराले फेरि अर्को महाभारत हुने छाँट देखिएपछि मुलीहरुको भेटघाट अर्को दिनसम्मका लागि स्थगित भयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker