कैलालीमा जग्गा रोक्का र फुकुवा गर्न भ्याइनभ्याइ, मालपोतमा सास्ती

अ+

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ का अर्जुन नेपाली जग्गा फुकुवा गर्न मालपोत कार्यालय धनगढी धाउन थालेको २ दिन भएको छ। 

शुक्रबार पनि मालपोत कार्यालयमै भेटिएका नेपालीले यसअघि ऋण लिएको बैँक बदल्न र जग्गाको कारोबार गर्न जग्गाको फुकुवा गर्न धाइरहेको बताए। 

तर कार्यालयको सेवा चुस्त नहुँदा समस्या खेप्नुपरेको गुनासो उनको छ। 

कञ्चनपुरको वेदकोट नगरपालिका–४ का भानसिह खत्री पनि जग्गाको फुकुवा गर्न २ दिनदेखि मालपोत कार्यालय धाइरहेका छन्। 

तर गोदावरीका नेपालीको जस्तै सेवा चुस्त नभएकै कारण समस्या खेप्नुपरेको गुनासो खत्रीको छ।

भूमीसुधार तथा मालपोत कार्यालय कैलालीमा पछिल्लो समय जग्गा रोक्का तथा फुकुवा गर्ने सेवाग्राहीको भीडभाड नै लाग्ने गरेको छ। तर कार्यालयको सेवा चुस्त नहुँदा समस्या खेप्नुपरेको जनगुनासो सेवाग्राहीले गर्दै आएका छन्। 

मालपोत कार्यालयको भनाईमा विगतमा भन्दा सेवा प्रवाह केही व्यवस्थित बनाउने प्रयास भने गरिएको छ। तर सेवाग्राहीको चापले समस्या हुने गरेको छ। पछिल्लो सयम जग्गा रोक्का र फुकुवाका लागि पुग्ने अधिकांश सेवाग्राहीले जग्गाको खरिदबिक्रि, बैँकबाट धितो लिएर व्यवसाय सञ्चालन, चर्को व्याजका कारण बैँक फेरबदल गर्ने बताउँदै आएको मालपोत कार्यालयले जनाएको छ। 

‘कोरोना महामारीपछि जग्गाको रोक्का गर्ने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसी भन्छन्, ‘अधिकांश सेवाग्राही बैँकबाट ऋण लिन जग्गाको रोक्का गर्न पुगेको बताउँछन्। बढिजसो कोरोना महामारीपछि रोजगारी छुटेका र व्यवसाय संकटमा परेका व्यक्ति आउने गर्छन्।’

तर सेवाग्राहीले सास्ती खेप्नुपरेको विषयमा भने पछिल्लो समय केही सहज बनाउने प्रयास गरिएको दाबी केसी गर्छन्। 

विगतमा जग्गाको रोक्का निकै कम हुने गरेकोमा पछिल्लो समय ह्वात्तै बढेको  मालपोत कार्यालयको तथ्यांकले देखाउँछ। 

पछिल्लो १ हप्ताबाट कार्यालयबाट १ हजार ३८ जनाले सेवा लिएकोमा ७ सय १८ जनाले भने रोक्का र फुकुवा सम्बन्धि सेवा लिएका छन्। जसमा ४ सय १० जनाले रोक्का गराउँदा ३ सय ८ ले जग्गाको फुकुवा गराएका छन्।

जग्गा रोक्का राख्ने विभिन्न कारण हुने भएपनि प्रमुख भने ऋणको कारोबार नै नभएको अर्थका जानकारहरुले बताउँदै आएका छन्। जग्गा रोक्का फुकुवा बढेपछि ऋण लिने तथा सस्तो ब्याज खोज्दै बैँक बदल्ने क्रम बढेको अनुमान गरिएको छ।

तर बैँकहरुले भने अवस्था ठीक उल्टो रहेको बताएका छन्। बैँकर्स एसोसिएसन नेपाल सुदूरपश्चिमका अध्यक्ष बिरुराम जैशीले अहिले ऋण लिनेको संख्या विगतमा भन्दा घटेको बताए। 

जग्गाको रोक्का राख्नुको कारण ऋणको लेनदेन मात्र नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतले लेखी पठाएमा पनि रोक्का गर्दै आएको मालपोत कार्यालयले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker