
अछाम : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको चुनावलाई लक्षित गर्दै अछाम जिल्लामा जाँडरक्सी बिक्री गर्न तथा सेवनमा रोक लगाइएको छ ।
चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा जाँडरक्सी ओसारपसारदेखि खान समेत पूर्णरुपमा निषेध गरिएको अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेयले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारि पाण्डेयले जारी गरेको सूचनामा निर्वाचन अवधिभर जाँडरक्सी ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको हो ।
जारी सूचनामा भनिएको छ, अछाम जिल्लाको सम्रग शान्ती सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल सरकार गृह मन्त्रालयको २०७९ भदौ ३० गतेको पत्र मार्फत प्राप्त निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिको २०७९ कात्तिक २० गतेको बैठकको निर्णय अनुसार २०७९ कात्तिक २१ राती १२ बजे देखी पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
कसैले मदिरा बिक्रिवितरण, सेवन गरेकाे भएमा प्रशासन वा प्रहरीमा जानकारी दिनका लागि कार्यालयले आग्रह गरेकाे छ । जानकारी दिने व्यक्तिकाे नाम गोप्य राखिने समेत बताइएकाे छ ।
आउँदो चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ पाण्डेयको भनाई छ ।
