टेकराज भण्डारी, कात्तिक २५, अछाम
आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी कार्य अछाममा तीब्रताका साथ अघि बढाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय लगायतका निकायबाट तयारीका कार्यहरु तीब्रताका साथ भैरहेको बताईएको छ ।
२ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा क्षेत्र रहेको अछाममा यो पटक सदरमुकाम मंगलसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय रहेको छ ।
आफ्नो कार्यालयबाट निर्वाचनको तयारीका कार्य तदारुकताका साथ भैरहेको जिल्ला न्यायाधीश समेत रहनुभएका मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले बताउनुभएको छ ।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै क्षेत्र नम्बर २ मा ८५० जना तथा क्षेत्र नम्बर १ मा ८२७ जना कर्मचारी खटाउने कार्य गरी नियुक्ति समेत दिने कार्य भैरहेको बताउनु भयो ।
निर्वाचन आचार संहिताको सबैले पालना गर्नुपर्ने भन्दै यो कानून भएको र कानूनको उल्लंघन क्षम्य नहुने समेत बताउनुभयो ।
अछाम जिल्लामा यो पटक १३० मतदान स्थल तथा २०८ मतदान केन्द्र रहेका छन् । ७७ हजार ३९० महिला, ८१ हजार २५६पुरुष र २ जना अन्य गरी १ लाख ५८ हजार ६सय ५७ मतदाताले मतदान गर्न पाउनेछन् ।
निर्वाचनको बेला कुनै पनि मतदाताले कसैको प्रलोभनमा नपरी आफुले ईच्छाईएको व्यक्तिलाई निर्वाचनको दिन मतदान गर्न मुख्य निर्वाचन अधिकृत शर्माको आग्रह छ ।