
पाँच पार्टीका अध्यक्ष निर्वाचित
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ९२ मतले पराजित गर्दै देउवा सातौँपटक निर्वाचित भएका हुन् । उनी ०४८ यता लगातार सांसद निर्वाचित हुँदै आएका छन् । प्रधानमन्त्री देउवाका प्रतिद्वन्द्वी ढकालले सम्मानजनक १३ हजार ४२ मत पाएका छन् ।
एमाले अध्यक्ष केपी ओली झापा ५ बाट दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार पाँच सय ७४ को दोब्बरभन्दा बढी फराकिलो मतान्तरले पराजित गर्दै ओली छैटौँपटक विजयी भएका हुन् । ०४८ ओली ५२ हजार तीन सय १५ मतसहित भारी मतले विजयी बन्दा अधिकारीले २३ हजार सात सय ४१ म्त पाएका छन् । अधिकारी अघिल्लोपटक पनि ओलीका प्रतिद्वन्द्वी थिए ।
राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ १ बाट २१ हजार पाँच सय ५१ मतसहित विजयी भएका छन् । केसीले एमालेका डा. सूर्यप्रसाद पाठकलाई २६ सय २६ मतले पराजित गरेका छन् । पाठकले १८ हजार आठ सय २५ मतपाएका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट ३५ हजार ४२ मतसहित विजयी भएका छन् । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । यादवले १६ हजार नौ सय ७९ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली १ बाट १६ हजार दुई सय ५५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले नौ हजार सात सय ९२ मत पाएका छन् । श्रेष्ठ जेलमा रहेका रेशम चौधरीकी श्रीमती हुन् ।
पदाधिकारीहरू ककसले चुनाव जिते ?
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी भएका छन् । एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री अग्नि खरेललाई १४ हजार दुई सय ७४ मतको फराकिलो अन्तरले पराजित गर्दै शर्मा तेस्रोपटकको प्रतिस्पर्धामा विजयी बनेका हुन् । खरेलले २५ हजार तीन सय ४९ मत पाएका छन् । कांग्रेसकै महामन्त्री गगन थापा बुधबार काठमाडौं ४ बाट निर्वाचित भइसकेका छन् ।
एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट २१ हजार नौ सय ४३ मतसहित दोस्रोपटक निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीलाई दुई सय आठ मतको झिनो अन्तरले पराजित गरे । क्षेत्रीले २१ हजार सात सय ३५ मत प्राप्त गरे । त्यस्तै, अर्का सचिव गोकर्ण विष्ट गुल्मी २ बाट २८ हजार चार सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनले गठबन्धनबाट नेकपा एकीकृतकी सचिव रामकुमारी झाँक्रीलाई दुई हजार ४२ मतले पराजित गरे । झाँक्रीले २६ हजार चार सय ४२ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, माओवादी केन्द्रका उपमहासचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बाग्लुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन् । पौडेलले एमालेका मञ्जु शर्मा मलासीलाई चार हजार पाँच सय ९९ मतले पराजित गरेका छन् । शर्माले २० हजार एक सय ८० मत पाएकी छिन् ।
प्रचण्ड, नेपाल, लिङ्देन र रविको जित निश्चित, पौडेल सिट सुरक्षित गर्दै
मंगलबार राति अबेरसम्मको मतगणनामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जित निश्चित गरेका छन् । गोरखा२ बाट उम्मेदवार रहेका प्रचण्डले १९ हजार ५३१ मत पाएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले सात हजार १६७र एमालेका अब्दुस मियाले पाँच हजार १०३ मतमात्रै पाएका छन् ।
रौतहट १ बाट प्रतिस्पर्धामा रहेकानेपाल पनि २४ हजार २९६ मतसहित अगाडि छन् । प्रतिस्पर्धी एमालेकाअजयकुमार गुप्ताको १९ हजार २३१ मत छ । तेस्रो दिनसम्मको गणनामा लगातार मतान्तर बढेको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ बाट जित निश्चित गरेका छन् । लामिछानेले २५ हजार ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले १० हजार ४१० मत पाएका छन् । १५ हजार मतान्तर रहेकाले लामिछाने विजयउन्मुख देखिएका हुन् ।
झापा ३ बाट उम्मेदवारी दिएका राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनले लगातार मतान्तर बढाउँदै २१ हजार २७९ मतसहित सिट सुरक्षित गरिरहेका छन् । प्रतिस्पर्धी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १८ हजार ४३५ मत पाएका छन् ।
तनहुँ १ मा प्रतिस्पर्धामा रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सिट सुरक्षित गर्नेगरी मतान्तर बढाइरहेका छन् । प्रतिस्पर्धी एमालेका एकबहादुर रानाभन्दा करिब तीन हजार मतले अगाडि रहेका पौडेलले १५ हजार ४११ मत पाएका छन् । रानाले १२ हजार ५९४ मतसहित पछ्याइरहेका छन् ।
-nayapatrika