नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले नेकपा एमाले थप सशक्त ढंगले अघि बढ्ने बताउनु भएको छ । प्रतिनिधिसभाको निर्वाचनमा अछाम क्षेत्र न २ बाट पराजित भइसकेपछि पत्रकार सम्मेलनको आयोजना गर्दै नेता बोगटीले एक निर्वाचन हार्दैमा केही फरक नपर्ने भन्दै आगामी दिनमा थप जिल्लामा एमाले एकता र दृढताका साथ अघि बढ्ने बताउनु भएको हो ।
नेकपा एमालेको पक्षमा मतदान गर्ने आम मतदातालाई धन्यवाद दिदै एमालेका कार्यकर्तालाई उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न अनुरोध समेत गर्नुभएको छ । पार्टीको पक्षमा रात दिन नभनी अहोरात्र खट्ने सबैलाई धन्यवाद दिनुहुँदै नेता बोगटीले अछामको विकासका लागि आफू सरकारमा नभएपनि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । आफूले यस भन्दा अघि सारेका विकास निर्माणका योजनालाई अघि बढाउन अब गठन हुने सरकार सँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो
यस क्षेत्रमा अहिलेपनि विभिन्न खालका समस्या रहेकाले जनताको जनजिविका सँग जोडिएका समस्याहरू समाधान गर्नका लागि थप प्रतिबद्ध भएर लाग्ने उहाँको भनाई छ । एमाले अछामको सह इन्चार्ज समेत रहनु भएका नेता बोगटीले ५ बर्ष पछि हुने निर्वाचनमा एमालेका सबै उमेदवारहरू निर्वाचित हुनेगरि पार्टीको संगठन निर्माण गर्न एमाले जुट्ने उहाँको भनाई थियो
पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रदेश कमिटी सदस्य भीम बहादुर बिष्टले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिनुभएको छ । आफू र एमालेका उम्मेदवार प्राविधिक कारणले पराजित भएपनि सैद्धान्तिक र विचारका हिसाबले एमालेका उमेदवारहरू विजयी भएको बताउनुभयो । यो निर्वाचन बाट पाट सिक्दै एमाले अछाम अब थप बलियो भएर अघि बढ्ने उहाँको भनाई थियो । तिन दल सँग नेकपा एमाले एक्लै भिडेकाले नेकपा एमाले सँग एक्ला एक्लै लड्ने हिम्मत अरु कुनैपनि दल सँग नभएको बताउनुभयो
नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले एमाले सँग एक्लै लड्ने आट नभएका दलहरू देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभएको छ । एमाले अछामको सन्दर्भमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै अछामी जनताको पक्षमा कामगर्ने बताउनुभयो । आगामी दिनमा एमालेका उमेदवारलाई विजयी गराउने गरि पार्टीको संगठन निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । पार्टीको तर्फबाट निर्वाचित सबै उमेदवारलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बोहराले विचलित नहुन एमाले अछामका कार्यकर्तालाई अनुरोध गर्नुभएको छ
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन एमाले अछामका सचिव भीम रावलले गर्नुभएको थियो ।