तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

साउन २२, अछाम । खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुले गाउँपालिका कार्यालयका काममा अवरोध गरेका छन् । करार कर्मचारीहरुले गाउँकार्यपालिका कार्यालय, वडा कार्यालय, आकस्मिक बाहेकका स्वास्थ्य संस्थामा तोकिएको काम नगरेर अवरोध गरेका हुन् ।

महंगी बढेको बेलामा पारिश्रमिक घटुवा भएर जीवनयापन समेत धान्न नसकिने भएकोले आफूहरु अन्यायमा परेको आन्दोलित करार कर्मचारीको भनाई छ । तलब घटाउने निर्णय फिर्ता नहुँदासम्म आफ्नो आन्दोलन जारी रहने एकीकृत करार संघर्ष समितिले जनाएको छ ।

१८ वर्षदेखि लगातार काम गरिरहेका करार कर्मचारिलाई समेत मर्का पर्नेगरी भएको निर्णय फिर्ताको माग समेत गरेका छन् । गाउँकार्यपालिकाको बैठकले खाइपाइ आएको तलबमा व्यापक कटौती गरेको भन्दै करारका कर्मचारी आन्दोलित भएको बताएका छन् ।

तलब बढाउनुको सट्टा खाइपाइ आएकोमा घटाएकोमा करार कर्मचारीले चरणबद्ध आन्दोलन गर्ने भनाइ छ । मागहरु परा नभएको खण्डमा थप सशक्त आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने चेतावनि समेत दिएका छन् ।

कार्यरत करार कर्मचारीहरुको खाईपाई आएको तलब घटाउने निर्णय तत्काल रद्व गर्नुपर्ने, कर्मचारीलाई नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा आवद्व गराउनुपर्ने, कर्मचारीहरुको का.स.मु अनुसार तलव बृद्धी हुनुपर्ने, श्रमजिवी कर्मचारीहरुमाथी गरिने विभेद अन्त्य गरिनुपर्ने लगायतका मागहरु सहित नाराबाजी सहित आज गाउँपालिकाको कार्यालय घेराउ समेत गरेका छन् ।

करार कर्मचारिहरुको तलव घटाउने निर्णय प्रति जनप्रतिनिधहरुलाई तलव नघटाउन आग्रह गर्दा पनि हाल सम्म गाउँपालिका अध्यक्ष कार्यालयमा नआएको र गाउँपालिका उपाध्यक्षलाई विज्ञप्ती मार्फत आग्रह गर्दा पनि जनप्रतिनिधीहरुले आफुहरुका माग प्रति गम्भिर नभएको कर्मचारिहरुको आरोप छ ।

यता कार्यपालिकाको बैठक बाट पारिश्रमिक घटाएर नयाँ तलवमान कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको भनाइ छ ।

“करार कर्मचारीको तलब २०÷२५ प्रतिशत घटाउने निर्णय भएको छ ।” भण्डारीले थप्नुभयो “कर्मचारीको माग सम्बोधनका लागि आवश्यक छलफल गछौं ।” रामारोशन गाउँपालिकामा एकसय भन्दा बढी करार कर्मचारी रहेको बताइएको छ ।

कार्यालय सहयोगीको १६ हजार पाँचसय, खरिदार र प्रावि शिक्षकको २१ हजार, पाँचौ तह र निमावि तहको २२ हजार र अधिकृतस्तरको २८ हजार कायम गर्ने निर्णय भएको बताइएको छ । पारिश्रमिक घटेपनि शिक्षकहरुले नियुक्ति बुझेर काममा फर्किसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button