१९ मंसिर,मंगलसेन – राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जिम्मेवार निकायमा कार्यरत व्यक्ति र शिक्षित वर्गबाटै लैंगिक हिंसाका घटना घटिरहेको बताउनु भएको छ । आयोगमा पुगेका यस सम्बन्धका कैयौ लैंगिक हिंसाका घटनामा शिक्षित तथा कुनै न कुनै निकायमा कार्यरत पहुँच र हैसियत भएका व्यक्तिहरु नै संलग्न देखिएको बताउनुभयो ।
आयोगले मंगलबार मंगलसेनमा आयोजना गरेको समाजमा विद्यमान हानिकारक अभ्यास जस्तैः छाउपडि, बालविवाह, बहुविबाह, जातिय छुवाछुत लगायत विरुद्ध अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष पराजुरीले यस्तो बताउनु भएको हो ।
समतामुलक समाजको परिकल्पना गर्ने हो भने लैंगिक हिंसाको समस्या समाधान गर्न घरपरिवार र पुरष सबैभन्दा बढी सचेत रहन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न न्यायिक निकायमा पर्ने करिब ८० प्रतिशत हिंसा पुरुषबाट, घरपरिवार तथा चिनजानका व्यक्तिहरुबाटै हुने गरेको पाईएको छ ।
महिलामाथि हुने हिंसा न्युनिकरणको विषयलाई अहिले महिलाहरुको मात्रै समस्या बनाईएको भन्दै जबसम्म पुरुषहरुको पनि संलग्नता र सक्रियता यसमा सामेल हुदैन, तबसम्म समाज रुपान्तरण हुनै नसक्ने उहाँको दाबी छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले समाजमा व्याप्त कतीपय सामाजिक चालचलन र प्रथाहरुले नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो ।
पुर्खौदेखि मान्दै आएका पुराना संस्कारहरुलाई कानुनभित्रै मान्यता दिईएको भएपनि त्यस्ता संस्कारहरु समाजको अहित हुने दिशातर्फ जान थाले त्यसलाई रोक्नुपर्ने उहाँको भनाई छ ।
मानिसले सबैभन्दा बढी महसुस गर्ने कुरा विभेद भएको र संसारमा सबैभन्दा ठुला लडाई र आन्दोलन पनि अस्तित्वको लागि नै हुदै आएका भन्दै कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आफुलाई परिवर्तन सक्ने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्ने जिकिर गर्नुभयो ।
अन्र्तक्रिया कार्यक्रममा जिल्लास्थित सरोकारवालाले हिंसाबाट सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित भएको भन्दै यस्ता कार्यक्रमहरु अझै दुर्गममा पुग्न नसेको बताएका छन् ।
आफु विभेद र हिंसामा परेको थाहा पाउदा पाउँदै पनि पिडितहरु न्यायिक निकायमा उजुरी दिन सक्ने अवस्थामा नरहेको भन्दै उनीहरुका लागि ग्रामिण क्षेत्रमा सचेतनामुलक कार्यक्रमहरुको आवश्यकता रहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा अछाम जिल्लामा लैंगिक विभेदका घटना र उजुरीको अवस्थाबारे जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवँर, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, उप–प्रमुख संगिता रावल सोडारी, साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुवँर, उप–प्रमुख शिलोज बहादुर कुवँर, कमलबजार नगरपालिकाका उप–प्रमुख शारदा विष्ट कुवँर, निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष विक, महिला अधिकारकर्मी, कानुनकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।