स्थानीय विषय पढ्दै, खेतीपाती सिक्दै विद्यार्थी; निजी विद्यालयमा जाने विद्यार्थीलाई रोक्न अङ्ग्रेजीमा पढाइ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी स्थानीय विषय पढ्दै खेतीपाती सिकिरहेका छन् ।

२०७२ सालमा कक्षा ६, ९ र ८ का लागि तयार गरेको ‘तरकारी फलफूल र अन्नबाली’ नामको पाठ्यक्रम अहिले विद्यार्थीलाई पढाउनका लागि मात्र नभई व्यावसायिक बन्न सिकाउने माध्यम बनेको विद्यालयका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । यो पाठ्यक्रममा विद्यार्थीलाई जमिन, माटो, हावापानीसँगै नर्सरी व्यवस्थापन, तरकारी खेती, फलफूल खेती, अन्नबाली भण्डारण र बजार व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक जानकारी दिने गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा अन्नबालीको परिचय गराउने, बाली उत्पादनका लागि माटोको तयारीदेखि बिक्री व्यवस्थापनसम्मका प्रक्रियाबारे ज्ञान दिने गरेको उहाँले बताउनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै भविष्यमा बालबालिकालाई कृषिमा आत्मनिर्भर बनाउने विद्यालयको उद्देश्य छ ।

स्थानीय विषय पढाउनका लागि विद्यालयले स्थानीय मनकुमार अधिकारीको जग्गा वार्षिक पाँच हजार पाँच सय रुपैयाँमा भाडामा लिएको छ । जग्गामा विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी तरकारी खेती लगाउने गरिएको छ । ‘तरकारी फलफूल र अन्नबाली’ विषयको घण्टी बजेपछि शिक्षक र विद्यार्थी बारीमा पुग्छन्, खनजोत गर्छन्, बिउ छर्छन्, बेर्ना रोप्छन्, गोडमेल गर्छन् । मल हाल्छन् र पानी दिन्छन् । र बेला भएका तरकारी फलफूल बिक्री गर्न नजिकका पसलमा लैजान्छन् । जग्गामा काउली, बन्दा, अदुवा, गोलभेँडा, खुर्सानी लगायतका तरकारी लगाउने गरेको र कतिपय तरकारीको बेर्ना विद्यार्थीले नै उत्पादन गर्ने प्रधानाध्यापक आचार्य बताउनुहुन्छ ।

तरकारी बिक्रीबाट भएको आम्दानीबाट विद्यालये जग्गाको भाडा तिर्ने गरेको छ । पाठ्यक्रम विकास केन्द्रको विषयमा भन्दा स्थानीय विषयमा विद्यार्थीको रुचि बढी देखिएको अभिभावक बताउँछन् ।

२०४९ साल फागुन ४ गते स्थापना भएको विद्यालयमा अहिले ७९ जना विद्यार्थी छन् । विद्यालयमा ‘तरकारी फलफूल र अन्नबाली’ विषय पढेका कतिपय विद्यार्थी कनिष्ठ कृषि प्राविधिक (जेटीए) पढेर जागिरमा प्रवेश गरिसकेका प्रधानाध्यापकले बताउनुभयो ।

यसैगरी विद्यालयले ‘अङ्ग्रेजी’ खोज्दै निजी विद्यालय जाने विद्यार्थीलाई रोक्न अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाएको प्रधानाध्यापक आचार्य बताउनुहुन्छ । २०६८ सालमा कक्षा १ बाट शुरु गरेको अङ्ग्रेजी माध्यमको पठनपाठन अहिले कक्षा ५ सम्म पुगेको छ ।

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७८ साल फागुनदेखि कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम ‘दिरुम ज्ञानमाला’ तयार पारेर पढाइको व्यवस्था मिलाएको छ । तर नगरपालिकाले कक्षा ६, ७ र ८ को स्थानीय विषय तयार पार्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button