
४ पौष कैलाली
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कञ्चनपुरमा सम्पन्न प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि हात पारेको टोलीलाई सम्मान गरेका छन् ।

शुक्रवार फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउँदै अछामले उपाधि हात पारेको हो। शनिवार उक्त टोलीलाई बधाई दिन र सम्मान गर्न मन्त्री बोहरा टोली रहेको स्थानमै पुगेका थिए ।

मन्त्री बोहराले अछामको क्रिकेट टोलीसँग अन्तरक्रिया समेत गरे । टोलीका सबै खेलाडीहरूले क्रिकेटको अवस्था बारे मन्त्री बोहरालाई जानकारी गराए । टोलीका क्याप्टेन अनिल कुँवर अछाममा क्रिकेटको ठुलो सम्भावना रहेको भए पनि आवश्यक भौतिक संरचना नहुँदा समस्या भइरहेको बताएका थिए । ‘हामी कहाँ अझै धेरै सम्भावना भएका खेलाडीहरू छन्’ क्याप्टेन कुँवरले भने,‘ भौतिक संरचना र नियमित अभ्यास हुन सकेको छैन । ’

सबै खेलाडीहरूलाई सम्मान पछि मन्त्री बोहराले खेलकुदको विकासका लागि प्रदेश सरकार लागि परेको बताए । मन्त्री बोहराले अछाममा क्रिकेट खेलसँगै अन्य खेलहरूका लागि आवश्यक संरचना निर्माण गर्ने विषयमा पछि छलफल गर्ने बताए ।

‘राष्ट्रको गहना हुन् खेलाडी’ मन्त्री बोहराले भने, ‘अछाममा खेलकुदको विकास गर्ने विषयमा प्रदेश सरकार गम्भीर छ । त्यहाँ आवश्यक विषयहरूका बारेमा जानकारी गराउनु होला ।’छनोट प्रतियोगिता हात पारेको टिमलाई बधाई दिन र सम्मान गर्न मन्त्री पुगेपछि खेलाडीहरू पनि उत्साहित भएका थिए ।

